रत्ननगर- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चितवन क्षेत्र नं. १ बाट युवा नेता बीरेन्द्र चौधरीले क्षेत्रीय सह-सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।
युवा पुस्ताको सहभागिता र संगठनलाई समयअनुकूल बनाउने उद्देश्यसहित उम्मेदवारी दिएको चौधरीले बताएका छन्। MBS अध्ययन गरेका चौधरी युवा व्यवसायीसमेत हुन्।व्यवसाय सञ्चालनका क्रममा हासिल गरेको व्यवस्थापन, नेतृत्व, टिम निर्माण तथा योजना कार्यान्वयनको अनुभवलाई पार्टी संगठनमा उपयोग गर्ने उनको भनाइ छ।
चौधरीले ‘रूपान्तरित कांग्रेस, समृद्ध नेपाल’लाई आफ्नो उम्मेदवारीको मुख्य अवधारणा बनाएका छन्। पार्टीभित्र नयाँ सोच, पारदर्शिता, जवाफदेहिता र परिणाममुखी कार्यशैली आवश्यक रहेको उनले बताएका छन्।
घोषणा र प्रतिबद्धताभन्दा कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने उनको धारणा छ। संगठनमा उठाइने विषयलाई योजना, जिम्मेवारी र समयसीमासहित अघि बढाउँदै परिणाममा पुर्याउनुपर्ने उनले बताएका छन्।
युवाका लागि रोजगारी, उद्यमशीलता, सीप तथा प्रविधिमा पहुँच र नेतृत्व विकासका अवसर विस्तार गर्नुपर्नेमा चौधरीले जोड दिएका छन्। युवालाई पार्टीका गतिविधिमा मात्र नभई नीति निर्माण र संगठन सञ्चालनको प्रक्रियामै अर्थपूर्ण रूपमा सहभागी गराउनुपर्ने उनको भनाइ छ।
क्षेत्रीय सह-सचिवको जिम्मेवारी पाएमा संगठन सुदृढीकरण, युवा नेतृत्व विकास, कार्यकर्ताबीच समन्वय, जनतासँगको सम्बन्ध विस्तार तथा परिणाममुखी कार्यशैलीलाई प्राथमिकतामा राख्ने चौधरीले प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले अग्रज पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जाबीच सहकार्यबाट पार्टी संगठनलाई थप प्रभावकारी बनाउन सकिने बताएका छन्।


