काठमाडौँ –
नेपालीहरूको महान् पर्व दसैँको अवसरमा यस वर्ष काठमाडौँ उपत्यकाबाट करिब १५ लाख यात्रु बाहिरिने प्रक्षेपण गरिएको छ । जसमध्ये सार्वजनिक यातायातको प्रयोग गरेर मात्रै झन्डै १० लाख यात्रुले उपत्यका छाड्ने अनुमान गरिएको छ ।
यति ठुलो सङ्ख्यामा बाहिरिने यात्रु र सवारीसाधनको चापलाई व्यवस्थित गर्न यस पटक ठुलै चुनौती रहेको सरोकारवालाहरूले औँल्याएका छन् ।
प्रतिवेदनअनुसार दसैँको मुख्य चाप असोज ३१ (फूलपाती) देखि कात्तिक २ (अष्टमी) सम्म पर्नेछ । यी तीन दिनको अवधिमा मात्रै २ देखि ३ लाखभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिनेछन् ।
दसैँ अवधिभर यात्रुलाई गन्तव्यमा पुर्याउन न्यूनतम ४३ हजार ५ सय ७४ देखि अधिकतम ६५ हजार ३ सय ६१ सार्वजनिक सवारीसाधनका ट्रिपहरू आवश्यक पर्ने अध्ययनले देखाएको छ ।
सबैभन्दा बढी भिड फूलपातीका दिन हुनेछ । उक्त दिन एकै पटक १ लाख १३ हजार २ सय ८३ यात्रु बाहिरिने र त्यसका लागि करिब ७ हजार ३६७ सार्वजनिक सवारीसाधन एकै दिन परिचालन गर्नुपर्ने अनुमान छ ।
यस्तै, घटस्थापना अघि नै करिब डेढदेखि साढे दुई लाख यात्रु बाहिरिइसक्ने प्रक्षेपण छ । बाहिरिने सार्वजनिक सवारीसाधनहरूमध्ये ठुला बसको हिस्सा ४८ प्रतिशत, माइक्रो बसको ४३ प्रतिशत र मिनी बसको ९ प्रतिशत रहनेछ ।
नागढुंगा नाकामा ५५ प्रतिशत भार, पूर्व जाने सवारीलाई बीपी राजमार्ग पठाइने
उपत्यका भित्रिने र बाहिरिने ८५ देखि ९० प्रतिशत सवारीको भार मुख्य तीन नाका— नागढुङ्गा, साँगा र फर्पिङले बेहोर्ने गरेका छन् । त्यसमध्ये पनि नागढुङ्गा नाकाबाट बाहिरिने सवारीको करिब ५५ प्रतिशत हिस्सा नारायणगढतर्फ जाने भएकाले यो खण्डको ट्राफिक व्यवस्थापन सबैभन्दा चुनौतीपूर्ण हुने औँल्याइएको छ ।
सोटेनको विवरण अनुसार नागढुङ्गाबाट बाहिरिने यात्रुमध्ये पोखरा करिडोरतर्फ २७ प्रतिशत, बुटवल हुँदै पश्चिमतर्फ २१ प्रतिशत, नारायणगढ हुँदै पूर्वतर्फ १९ प्रतिशत, मुग्लिन/धादिङतर्फ १८ प्रतिशत र लुम्बिनी/चितवनतर्फ १५ प्रतिशत सवारीसाधन जाने गरेका छन् ।
यसको व्यवस्थापनका लागि प्रतिवेदनले नागढुङ्गामा हुने ट्राफिक चाप १५ देखि २० प्रतिशतले घटाउन पूर्वतर्फ जाने सवारीलाई बीपी राजमार्ग (धुलिखेल–सिन्धुली) र कान्ति लोकपथतर्फ ‘डाइभर्ट’ गर्न सिफारिस गरेको छ । साथै, यात्रुवाहक बस र माइक्रो बसलाई निर्माणाधीन नागढुङ्गा सुरुङमार्गबाट पठाएर प्राथमिकता दिन र अन्य मालवाहक तथा ढिलो चल्ने सवारीलाई सतहको पुरानै सडकबाट पठाउन सुझाइएको छ ।
५२ प्रतिशतलाई अनलाइन टिकटको चाहना
समितिले यात्रा व्यवस्थापनका सन्दर्भमा गरेको अनलाइन सर्वेक्षणले दसैँको टिकट काट्दा यात्रुहरूले ठुलो सास्ती खेप्ने गरेको र कालोबजारीको सिकार हुने गरेको यथार्थ उजागर गरेको छ । सर्वेक्षणमा सहभागी यात्रुमध्ये ४३ प्रतिशतले विगतमा टिकट पाउनै मुस्किल भएको बताएका छन् भने ३० प्रतिशतले तोकिएभन्दा बढी (महँगो) भाडा तिरेर यात्रा गर्नुपरेको गुनासो गरेका छन् । केवल २४ प्रतिशतले मात्र सहजै टिकट पाएको बताएका छन् ।
त्यस्तै, प्रविधिको विकाससँगै यात्रुको रोजाइमा परिवर्तन आएको छ । ५२ प्रतिशत यात्रुले मोबाइल एप वा वेबसाइटमार्फत अनलाइन टिकट काट्न चाहेको बताएका छन् भने बस काउन्टरमै गएर लाइन लागी टिकट काट्ने पक्षमा १७ प्रतिशत मात्रै देखिएका छन् ।
२८ प्रतिशतले फोनमार्फत टिकट बुक गर्न रुचाउने बताएका छन् । यसले सार्वजनिक यातायातमा डिजिटल टिकेटिङको आवश्यकतालाई थप पुष्टि गरेको छ । ६९ प्रतिशत यात्रुले बिहान ९ बजे अगावै आफ्नो यात्रा सुरु गर्न रुचाउने गरेको पनि सर्वेक्षणले देखाएको छ ।
सडक मर्मत र ५३ हेभी उपकरण तैनाथ गर्दै सडक विभाग
हालैको भारी वर्षा, बाढी र पहिरोका कारण (विशेषगरी भोटेकोशी, बीपी राजमार्ग र पृथ्वी राजमार्गमा) पुगेको क्षतिका कारण यस वर्षको यात्रा थप जोखिमपूर्ण र चुनौतीपूर्ण बन्न सक्ने प्रतिवेदनले औँल्याएको छ । सडक सञ्जालमा परेको क्षतिको कारण यातायात उपलब्धतामा अन्योल सिर्जना भएको छ ।
यसलाई मध्यनजर गर्दै सडक विभागले दसैँ लक्षित सडक मर्मत कार्यलाई तीव्रता दिएको छ । सम्भावित विपद् र दुर्घटनालाई ध्यानमा राखेर सडक विभागले राजमार्गका विभिन्न संवेदनशील स्थानहरूमा ५३ वटा ठुला उपकरण (डोजर, एक्स्काभेटर, लोडर आदि) तयारी अवस्थामा राख्ने योजना बनाएको छ ।
अरनिको राजमार्ग, बीपी राजमार्ग, साँखु–मेलम्ची, बल्खु–दक्षिणकाली, त्रिभुवन राजपथलगायतका स्थानमा तत्काल बाटो खुलाउन यी उपकरणहरू तैनाथ गरिनेछन् ।
ट्राफिक व्यवस्थापन र सुरक्षाका लागि यस्तो छ सिफारिस
दसैँको यात्रालाई सुरक्षित, झन्झटमुक्त र सहज बनाउन संसदीय समितिले अल्पकालीन र दीर्घकालीन सुझावहरू सरकार र सम्बन्धित निकायलाई दिएको छ । जुन यसप्रकार छन्–
लामो दूरीको यात्रा (२५० किलोमिटरभन्दा बढी वा ८ घण्टाभन्दा बढी) मा अनिवार्य दुई जना चालकको व्यवस्था कडाइका साथ लागू गर्ने । सवारीसाधनलाई यात्रामा निकाल्नु अगावै मेकानिकल (फिटनेस) जाँच अनिवार्य गर्ने र चालकको स्वास्थ्य तथा मापसे/लापसे परीक्षणलाई तीव्रता दिने ।
ट्राफिक जाम घटाउन कलंकी–सीतापाइला–नागढुङ्गा र कोटेश्वर–कलंकी खण्डमा सडक छेउबाट जथाभावी यात्रु चढाउन पूर्ण रोक लगाउने । तोकिएको बसपार्क र टर्मिनलबाट मात्रै यात्रु चढाउनुपर्ने व्यवस्था कडाइका साथ लागू गर्ने ।
हाल ट्राफिक प्रहरीले १५–१६ घण्टासम्म लगातार ड्युटी गर्दा थकान हुने र कार्यक्षमतामा ह्रास आउने भएकाले दैनिक ३ चरणको सिफ्ट प्रणाली (बिहान, दिउँसो र राती) लागू गर्ने ।
यात्रुको गुनासो तत्काल सम्बोधन गर्न १०३, १०० र हेल्लो सरकारको हटलाइनलाई थप प्रभावकारी बनाउने । उपत्यकाका १४ वटा मुख्य स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्ने ।
दीर्घकालीन समाधानका लागि ‘सार्वजनिक यातायात प्राधिकरण’ को माग गरेको छ । हरेक वर्ष दसैँमा मात्रै तदर्थ समिति बनाएर काम चलाउने प्रवृत्तिको अन्त्य गर्न प्रतिवेदनले दीर्घकालीन समाधान पनि सुझाएको छ ।
संघीय राजधानी काठमाडौँ उपत्यकाको सार्वजनिक यातायातलाई दीर्घकालीन रूपमा व्यवस्थित गर्न ऐन संशोधन गरी ‘सार्वजनिक यातायात प्राधिकरण’ गठन गर्नुपर्नेमा प्रतिवेदनले जोड दिएको छ ।
प्रविधिको प्रयोग बढाउँदै ‘अटोमेटिक नम्बर प्लेट रिकग्निसन’ क्यामेरा, जीपीएस जडान र डिजिटल टिकेटिङलाई अनिवार्य गर्दै लैजानुपर्ने निष्कर्ष समितिले निकालेको छ ।


