नेपालमा सेटलाइटमार्फत टेलिभिजन तथा इन्टरनेट सेवा प्रदान गरिरहेको डिस होमले सर्वसाधारणका लागि प्राथमिक सेयर अर्थात आईपिओ जारी गर्ने भएको छ । व्यक्तिगत कम्पनीलाई पब्लिक कम्पनीमा लैजादै प्राथमिक सेयर जारी गर्न लागिएको हो । कम्पनीले आफ्नो पुँजीको १० प्रतिशत बराबरको आइपिओ जारी गर्ने भएको हो । यसको लागि धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । केही दिनमा नै बोर्डले स्वीकृति प्रदान गर्न सक्ने बताइएको छ ।
दुई अर्ब पूँजी रहेको डिस होमले करिब १० प्रतिशत भन्दा केही बढी सेयर सर्वसाधारणका लागि जारी गर्ने तयारी गरेको छ । २३ करोड ८५ लाख रुपैयाँ बराबरको २३ लाख ८५ हजार कित्ता आईपीओ निष्कासनको प्रक्रियामा रहेको कम्पनीले जनाएको छ ।आइपिओ जारी गर्न माग गर्दै डिस होमले गत असार २९ गते नेपाल धितो बोर्डमा थियो । धितो पत्र बोर्डमा दिएको आवेदनमा अध्ययन गरेर बोर्डले कागजात माग गरेर अध्ययन गरी अन्तिम चरणमा रहेको जनाएको छ ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । डिसहोमले २०७४ सालदेखि आफूलाई पब्लिक कम्पनीको रुपमा रुपान्तरण गरेको थियो ।डिस नेपाल र होम टिभी सेवा बीच मर्ज भएर डिस होम संचालनमा आएको हो । डिसहोमले टेलिभिजनमात्र नभएर सिम टिभीको आइएसपीबाट इन्टरनेट सेवा प्रदान गर्न सुरुवात गरेको छ ।

