काठमाडौँ-
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बजारमा ग्यास अभाव भएको गुनासो बढेपछि काभ्रेपलाञ्चोकस्थित दुई ग्यास उद्योगको स्थलगत निरीक्षण गरेकी छन्।
मन्त्री यादवले मंगलबार नालामा सञ्चालित सूर्य ग्यास उद्योग र सगरमाथा ग्यास उद्योगको अवलोकन गर्दै उत्पादन, भण्डारण तथा आपूर्तिको अवस्थाबारे जानकारी लिएकी हुन्। मन्त्रीको सचिवालयका अनुसार उपभोक्ताबाट एलपी ग्यासको अभावसम्बन्धी गुनासो आएपछि स्थलगत निरीक्षण गरिएको हो।
निरीक्षणका क्रममा उद्योग सञ्चालकहरूले आपूर्तिमा कुनै कमी नगरेको दाबी गर्दै विगतझैँ नियमित रूपमा ग्यास वितरण भइरहेको बताएका थिए। उनीहरूका अनुसार उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर खरिद गर्न थालेका कारण बजारमा कृत्रिम अभावजस्तो अवस्था देखिएको हो।
मन्त्री यादवले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने दायित्व उद्योगहरूको भएको उल्लेख गर्दै व्यावसायिक प्रयोजनभन्दा घरायसी प्रयोगलाई प्राथमिकता दिई बिक्री–वितरण गर्न निर्देशन दिएकी छन्।
साथै, बजारमा अनावश्यक अभाव सिर्जना हुन नदिन आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन पनि सम्बन्धित पक्षलाई आग्रह गरिएको जनाइएको छ।

