चितवन, माघ ११।
प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले भरतपुरका दुई विकास आयोजना शिलन्यास गर्नुहुने भएको छ । यही माघ १७ गते शिलन्यास हुने भएको छ । नेकपा चितवनले आज आयोजित गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको कार्यक्रमबारे जानकारी गराइएको छ । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं जिल्ला पार्टी कार्यालय संयोजक पार्वती रावलले भरतपुरमा निर्माण हुन लागेको सिटी हलको शिलन्यास प्रधानमन्त्रीबाट हुने जानकारी दिनुभएको छ ।
सिटीहल शिलन्यास पछि भरतपुरमा जनसभाको आयोजना गरिएको छ । तीन वटै सरकारसँग समन्वयन गरेर सरकार अघि बढीरहेको बताउँदै उहाँले यसलाई कसैको प्रतिष्ठाको विषय बनाउन आवाश्यक नरहेको प्रष्ट पार्नु भयो । त्यस्तै उहाँले माडीमा पुल निर्माण कार्य रोकिएकोमा ध्यानाकर्षण भएको जनाउनु भएको छ । प्रधानमन्त्रीकै कारण पुल निर्माण रोकिएको भनि गरिएको कुप्रचारको छिटै खण्डन गरिने समेत संयोजक रावलले बताउनुभयो । निर्माणाधिन गौतमवुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्यलाई गती दिन सरकार प्रतिवद्ध रहेको दाबी गर्नुभएको छ ।
त्यस्तै भरतपुरको केन्द्रीय बस टर्मिनलमा मध्यान्ह १२ः१५ बजे हुने जनसभालाई प्रधानमन्त्री ओली सहित गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ, शहरी विकास मन्त्री प्रभु साह लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

