चैत्र २४, काठमाडौं । पाकिस्तानको संसद् विघटनविरुद्धको प्रारम्भिक आदेश आज बिहीवार आउने भएको छ । मुद्दामा चार दिनसम्म बहस भएको र यसको प्रारम्भिक आदेश आज बेलुका साढे ७ बजे आउने सर्वोच्च अदालतलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।
प्रारम्भिक आदेश आउने भएपछि सर्वोच्च अदालतबाहिर ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने सीसीटीभी क्यामेरा पनि जडान गरिएको छ । पाकिस्तानको सर्वोच्च अदालतका मुख्य न्यायाधीश उमर अता बन्दियालले प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वासको प्रस्ताव रोक्नु उपसभामुखको गल्ती भएको बताउनुभएको छ । संसद् विघटनविरुद्ध विपक्षी दलले दर्ता गरेको मुद्दाको बहसका क्रममा वकिलहरूलाई जवाफ दिने क्रममा मुख्य न्यायाधीश बन्दियालले संसदमा पुगेको अविश्वासको प्रस्ताव उपसभामुखले खारेज गर्न नमिल्ने बताएको पाकिस्तानी सञ्चारमाध्यम द डनले जनाएको छ ।
प्रधानमन्त्री इमरान खानले विश्वासको मत नपाउने पक्का भएपछि उपसभामुख कासिम खान सुरीले प्रस्तावलाई नै खारेज गरिदिनुभएको थियो । अविश्वासको प्रस्ताव खारेज भएकै दिन गएको आइतवार प्रधानमन्त्री इमरान खानको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गर्नुभएकाे थियो । संसद् विघटनको निर्णयविरुद्ध विपक्षी दल सर्वोच्चमा गएका छन् ।

