चितवन- नेपाल स्काउट्स र डेनिस स्काउट्स (KFUM-Spejderne i Danmark) द्वारा संयुक्त रूपमा आयोजित नेपाल–डेनमार्क साझेदारी परियोजना वाल्मीकि शिक्षा सदन को सहयोगमा सफलतापूर्वक सम्पन्न भएको छ। यस कार्यक्रमको मुख्य उद्देश्य नेतृत्व विकास, सांस्कृतिक आदानप्रदान तथा युवाहरूलाई निर्णय प्रक्रियामा सहभागी गराउनु थियो।
यस कार्यक्रममा चितवनका १६ वटा विद्यालयबाट १२० जना विद्यार्थी तथा स्काउट सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमले सांस्कृतिक सिकाइलाई प्रवर्द्धन गर्ने, युवाहरूलाई नेतृत्व तथा निर्णय प्रक्रियामा सक्रिय बनाउने र चितवनभर स्काउटिङ अभियानलाई थप सशक्त बनाउने लक्ष्य राखेको थियो।

कार्यक्रममा प्रमोद सुवेदी, जमुना काफ्ले, गोविन्द पराजुली तथा प्रकाश सुवेदी (उप-प्रधानाध्यापक) को विशेष उपस्थिति रहेको थियो। उहाँहरूले यस्ता अन्तर्राष्ट्रिय सहकार्य कार्यक्रमले युवा विकास तथा शिक्षामा सकारात्मक प्रभाव पार्ने बताएका थिए।
कार्यक्रमको सञ्चालन (Master of Ceremony) खेम पहारी (ECA Head) ले गर्नुभएको थियो भने कार्यक्रम व्यवस्थापनमा अभिषेक खत्री क्षेत्री ले सहयोग गर्नुभएको थियो।

कार्यक्रमका क्रममा सहभागीहरूले नेतृत्व विकाससम्बन्धी गतिविधि, छलफल तथा सहकार्यात्मक सिकाइ सत्रहरूमा सहभागिता जनाएका थिए, जसले टोली भावना, जिम्मेवारी र नेपाल–डेनमार्कबीचको सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाएको छ।
यो नेपाल–डेनमार्क परियोजना युवाहरूको सशक्तीकरण, नेतृत्व विकास तथा चितवनका विद्यालयहरूबीच सहकार्य विस्तार गर्ने एक महत्त्वपूर्ण पहलको रूपमा सफल भएको छ।


