भरतपुर, २८ फागुन ।
कालिका एफएमका समाचार प्रमुख विप्लव काफ्ले आर्थिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । उद्योग वाणिज्य संघ चितवनले काफ्लेलाई पुरस्कार प्रदान गरेको हो ।
उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पुरस्कारको चेक हस्तान्तरण गर्नुभएको थियो । पुरस्कार राशी ५१ हजार रहेको छ । संघले हरेक २ वर्षमा चितवनबाट आर्थिक विषयका समाचार लेख्दै आएका पत्रकारहरुलाई पत्रकारिता पुरस्कार प्रदान गर्दै आइरहेको छ । पत्रकार काफ्ले २०६५ सालदेखि पत्रकारितामा क्रियाशिल हुनुहुन्छ । रेडियो, टेलिभिजन, पत्रिका, अनलाइनमा उहाँ संवाददाता तथा समाचार संयोजकको भूमिकामा सक्रिय हुनुहुन्छ । हाल उहाँ कालिका एफएममा समाचार प्रमुख र कारोबार दैनिकको चितवन संवाददाता हुनुहुन्छ ।
पत्रकार महासंघ चितवनको कार्यसमिति सदस्य, नेपाल प्रेस युनियन चितवनको कोषाध्यक्ष समेत हुनुहुन्छ । माडी–१ का स्थायी बासिन्दा काफ्ले हाल भरतपुरलाई कार्यक्षेत्र बनाएर पत्रकारितामा सक्रिय हुनुहुन्छ । उहाँले चितवनका आर्थिक तथा विकास, समृद्धिबारे समाचारहरु लेख्दै आउनुभएको छ ।


