मङ्सिर ०४, काठमाडौं । नयाँ विद्युत् लाइन जडानमा कुनै समस्या छ ? नेपाल विद्युत् प्राधिकरणका वितरण केन्द्रहरुले तपाईँको मागअनुसारको सेवा दिन कन्जुस्याइँ गरिरहेका छन् वा कुनै पनि सेवाका लागि ढिलाइ गरिरहेका छन् ? यदि छन् भने तपाईँले प्राधिकरणको केन्द्रीय कार्यालयमा सिधा सम्पर्क गर्न सक्नुहुनेछ ।
सार्वजनिक बिदाको दिनबाहेक यहाँले सिधा सम्पर्क गरेर आफूले लिन चाहेको सेवाका बारेमा जानकारी लिन सक्नुहुनेछ ।वितरण केन्द्रका कर्मचारी वा प्राधिकरणका कुनै पनि निकायले ढिलाइ गरे नगरेको जानकारीसमेत दिन सक्नुहुनेछ । बिजुलीको खपत बढाउने उद्देश्यका साथ प्राधिकरणले माग गरेको बढीमा तीन दिनभित्रै सबै प्रकारको सेवा उपलब्ध गराउने व्यवस्था गरेको छ । नयाँ लोड स्वीकृतिमा ढिलाइ भएको भन्ने गुनासो आएपछि त्यसका बारेमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पनि चासो राखेकी थिइन् ।
प्राधिकरणको सञ्चालक समितिको बैठकले माग आउनेबित्तिकै बिजुलीको लोड स्वीकृतिका लागि आवश्यक व्यवस्था गरिसकेको छ । कुनै कारणले तत्काल उपलब्ध हुन नसक्ने भए त्यसको जानकारी ग्राहकलाई दिनसमेत निर्देशन दिइएको छ ।प्राधिकरणका अनुसार थ्री फेज लाइनतर्फ ४०० भोल्टको लोड स्वीकृति तथा जडानका लागि पनि अधिकतम १० दिनभित्र अनुमति दिनुपर्ने व्यवस्था गरिएको छ ।
हाल कायम रहेको संरचनाबाट दिन सकिने भए सात दिनभित्र र टिओडी वा स्मार्ट मिटर लिने ग्राहकका हकमा भए १० दिनभित्र लोड स्वीकृत गरी जडान गर्नुपर्ने व्यवस्था गरिएको छ ।

