कैलाली,सुदूरपश्चिमबाट अस्ट्रेलियामा काम गर्दै आएका नेपालीले बैतडीमा हत्या गरिएकी भागरथी भट्टका आफन्तलाई २ लाख ७० हजार ८४० रुपैयाँ सहयोग गरेका छन् । नेपालबाट अस्ट्रेलियामा काम गर्दै आएका व्यक्तिहरूको संस्था सिआईडी – नेपालको समन्वय तथा सहकार्यमा नेपलिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) र मल्टी डाइनामिक रियल स्टेट मेलबर्न अस्ट्रेलिया बाट सो रकम सहयोग भएको विकासमा सृजनशील नेपालका अध्यक्ष डिल्लीराज भट्टले जानकारी दिए ।
गत माघ २१ गते बेपत्ता भएकी भागरथीको शव माघ २२ गते बैतडीको लबलेक सामुदायिक जङ्गलमा हत्या भएको अवस्थामा फेला परेको थियो । शनिबार सो रकम सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भट्टका आफन्त कृष्ण भट्टमार्फत आमा द्रोपती भट्टलाई हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा बोल्दै मुख्यमन्त्री भट्टले भागरथी हत्या घटना जघन्य अपराध रहेको बताउँदै यस्ता जघन्य अपराध घटना नदिन सभ्य समाजको निर्माण गरिनुपर्ने बताए । ‘यसमा हामी सबैको भूमिका आवश्यक रहेको छ’ उनले भने, ‘प्रदेश सरकारले हत्या, हिंसा, बलात्कार जस्ता घटना हुन नदिन सुरक्षा निकायसँग समन्वय गरिरहेको छ ।’
उनले भने –‘भागरथी हत्या घटनामा संलग्न अपराधी कानुनी कठघरामा रहेको छ । यस्ता अपराधीलाई कडाभन्दा कडा सजाय हुनुपर्छ भनेर प्रदेश सरकार लागिरहेको छ ।’

