चितवन, ११ माघ।
राप्रपाका अध्यक्ष कमल थापाले देशलाई बचाउन र बनाउन राप्रपानै जनताले रोज्ने दाबी गर्नुभएको छ । राप्रपा चितवनको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले विगतमा कांग्रेस र कम्युनिष्ट नेतृत्वको सरकारहरु असफल बनिसकेकाले अब वैकल्पिक शक्तिका रुपमा राप्रपा उदाउने बताउनुभएको छ । “देशलाई बचाउन र बनाउन राप्रपा पार्टी र राप्रपाले लिएकाले विचारलेमात्रै सम्भव छ”, उहाँले भन्नुभयो, “विगतको १४ वर्षको इतिहासले देखाइसक्यो । राजसंस्था नहुदा, हिन्दुराष्टको पहिचान फाल्दा के आयो ?” उहाँले संविधान र व्यवस्थाभित्र रहेको अन्तरविरोधकै कारण परिवर्तन आफै धरमराइरहेको बताउनुभएको छ ।
उहाँले नेपाल बचाउन र बनाउन पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुराष्ट्रनै अपरिहार्य रहेको बताउनुभयो । दीघो शान्ती र स्थायीत्व कायम गर्न र प्रजातन्त्र बलियो बनाउन राजसंस्था सहितको लोकतन्त्रनै उपयुक्त हुने जीकिर गर्नुभयो । राजसंस्था नहुदा देशमा विदेशीको चलखेल बढेकाले जनताले राजसंस्था मागेको बताउनुभयो । सनातन हिन्दुराष्ट्र र राजसंस्था सहितको लोकतन्त्रको धरातलमा सबल र समृद्ध नेपाल निर्माण गर्ने अभियानमा राप्रपा शसक्त ढंगले अगााडी बढ्ने बताउनुभयो ।
“जनताले अन्य दललाई भोगिसके, विकल्प खोजिरहेका छन्”, उहाँले भन्नुभयो, “जनताको मन र विश्वास जित्न घरदैलो अभियानमा लागौँ, बलियो राष्ट्रवादी शक्तिका रुपमा उदाउने छौँ ।” उहाँले तीन अध्यक्षले गीता छोएर पार्टी एकता भएकाले कहिल्यै पार्टी नफुट्ने भएकाले संगठन निर्माणमा गती दिन आग्रह गर्नुभयो । उहाँले राप्रपा चितवनलाई धेरै सक्रिय सदस्य भएको जिल्लाका रुपमा चितवनलाई चिनाउन समेत निर्देशन दिनुभयो ।

