चैत्र ०८, काठमाडौं । वाग्मती प्रदेशले आफ्नो छुट्टै गुप्तचरी संयन्त्र गठन गर्ने तयारी गरेको छ । आज मङ्गलवार बसेको प्रदेश सभाको बैठकमा प्रदेश सभामा गएकाे पुस २१ गते दर्ता भएको प्रदेश अनुसन्धान ब्युरो विधेयक २०७८ लाई छलफलका लागि समितिमा पठाएको हो । नेपालको संविधानले गुप्तचरी संयन्त्र सङ्घीय कानुनअनुसार परिचालन हुने व्यवस्था गरे पनि प्रदेश सरकारले आफ्नो छुट्टै संयन्त्र निर्माण गर्न प्रदेश अनुसन्धान ब्युरो गठन गर्ने निर्णय गरेको हो ।
आज बसेको प्रदेश सभाको बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले त्याे विधेयकलाई समितिमा छलफलका लागि पठाउन प्रस्ताव गर्नुभएको थियो ।
कानुन मन्त्री खनालको प्रस्तावलाई प्रदेश सभा बैठकले सर्वसम्मत स्वीकार गरेको हो । त्यस्तै बैठकले प्रदेश विपद् व्यवस्था ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई दफाबार छलफलका लागि सम्बन्धित समिति पठाएको छ ।
त्यस्तै वाग्मती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मत स्वीकृत गरेकोे घोषणा गर्नुभयो । उहाँले प्रदेश अनुसन्धान ब्युरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई पनि सर्वसम्मत स्वीकृत भएको पनि घोषणा गर्नुभयो । प्रदेश सभाको अर्को बैठक अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित भएको छ ।
यसैबीच न्युज एजेन्सी नेपालसँगको कुराकानीमा प्रदेशका कानुन मन्त्री खनालले प्रदेश सरकारले पाएको अधिकारलाई सदुपयोग गरेर वाग्मती सरकारले पहिलो पटक आफ्नै मातहतमा रहने गरी सुरक्षासँग सम्बन्धित सूचना ब्युरो बनाउन लागेको बताउनुभयो । उहाँले दफाबार छलफलपछि मात्रै व्यवस्थित गरिने बताउनुभयो । मन्त्री खनालले प्रदेश सरकारले प्रदेश प्रहरी ऐन पास गरे पनि प्रदेशमा प्रहरी समायोजन हुन नसकेको गुनासो गर्नुभयो ।मन्त्री खनालले सङ्घीय सरकारको मुख ताक्दा धेरै काम प्रदेश सरकारमा हुन ढिलाइ भइरहेको पनि बताउनुभयो ।

