चैत्र ०७, काठमाडौं ।स्थानीय तहको चुनावमा आफ्नै दलको चुनाव चिह्न लिनका लागि ५८ वटा साना दलले विवरण पेस गरेका छन् ।राष्ट्रिय मान्यता प्राप्तबाहेकका ७३ वटा दललाई आफ्नै चिह्नबाट चुनाव लड्नका लागि आयोगले यही चैत ६ गतेसम्म जिल्लाको सक्रिय सङ्गठन र जिल्ला समितिको विवरण पेस गर्न समय दिएको थियो ।
अहिलेसम्म ५८ वटा दलको विवरण प्राप्त भएको र केहीको विवरण जिल्ला निर्वाचन कार्यालयले पठाउने क्रममा रहेका आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिनुभयो । प्राप्त भएको विवरण अध्ययन गर्ने र जुन–जुन जिल्लामा सङ्गठन र समिति छ, ती जिल्लामा मात्रै दलका उम्मेदवारले चुनावमा आफ्नै दलको चुनाव चिह्न पाउनेछन् ।
यसैबीच निर्वाचन आयोगले निःशुल्क टोल फ्री नम्बर सञ्चालनमा ल्याउने भएको छ । यही चैत १५ गतेदेखि चल्ने गरी आयोगले ११०२ नम्बरको टोल फ्री नम्बर सञ्चालनमा ल्याउन लागेको हो । टोल फ्री नम्बरमा मतदाता, राजनीतिक दल, उम्मेदवार लगायतले स्थानीय तहको चुनावसम्बन्धी जिज्ञासा, गुनासो र प्रश्न राख्न सक्नेछन् ।
यही वैशाख ३० गते हुने स्थानीय तहकाे चुनावका लागि आयाेगले तीव्र गतिमा तयारी गरिरहेकाे छ ।

