चैत्र ०५, चितवन ।पेट्रोलियम पदार्थको मूल्यवृद्धि सत्ता गठबन्धन दल आवद्ध संयुक्त विद्यार्थी संगठनले आपत्ति जनाएको छ । नेपाली कांग्रेसबाहेकका अरु चार दलका विद्यार्थी संगठनले आज (शनिबार) विज्ञप्ति जारी गरी मूल्यवृद्धि जनताको हितविरुद्ध भएको भन्दै फिर्ता लिन आग्रह गरेको छ ।
‘जनतालाई राहत दिनेतर्फ नसोची पटकपटक गरिएको मूल्यवृद्धि जनहित विरुद्धमा छ । अर्कोतिर पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि देखाएर जनताका दैनिक उपभोग्य समानमा समेत कालोबजारी व्यापक भइरहेको छ । हामी नेपाल सरकार र नेपाल आयल निगमसँग विगतमा संयुक्त विद्यार्थी संगठनसँग गरिएका सम्झौता तत्काल कार्यान्वयन गरी पछिल्लो समय गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन जोडदार माग गर्दछौं’, संयुक्त विज्ञप्तिमा भनिएको छ ।
संयुक्त विज्ञप्तिमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को भने हस्ताक्षर छैन । यसअघि सत्ता गठबन्धन आवद्ध सबै विद्यार्थीले हरेक विषयमा संयुक्त विज्ञप्ति निकाल्ने गरेका थिए । समाजवादीनिकट समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौंका अध्यक्ष देवेन्द्र कुँवरले हस्ताक्षर गरेका छन् ।


