भरतपुर, २४ फागुन
बलात्कारको आरोप खेपिरहेका अभिनेता पल शाहलाई अनुसन्धानका लागि गैडाकोट ल्याइएको छ । नाबालिग बलात्कारको आरोप लागेका उनलार्ई इलाका प्रहरी कार्यालय गैंडाकोट ल्याइएको हो । गीत छायांकनमा आउँदा गत वर्ष ७ चैतमा गैडाकोटको एक रिसोर्टमा राखेर बलात्कार भएको भन्दै किशोरीले किटानी जाहेरी दिएकी थिइन् ।
शाहविरुद्ध तनहुँ प्रहरीमा समेत बलात्कार भएको भन्दै उजुरी परेको थियो । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी दिलिप गिरीले थप अनुसन्धान गर्न तनहुँबाट गैडाकोट ल्याइएको बताउनुभयो । अभिनेता शाहलाई दिउसो साढे २ बजेतिर ल्याइएको हो । तनहुँ प्रहरीले दोस्रो पटक १२ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको छ ।
(बुधबार) जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद अनुमति लिएर अनुसन्धान गरिने बताउनुभयो । किशोरीले फागुन १६ मा गैडाकोट प्रहरीमा उजुरी दिएकी थिइन् । किशोरीको स्वास्थ्य परीक्षण समेत गरिएको छ । गैडाकोट प्रहरीले आइतबार तनहुँ प्रहरीलाई शाहलाई पठाउन पत्र पठाएको थियो ।


