माघ २५, चितवन ।भरतपुर अस्पतालमा यस वर्ष ६१ जना कोरोना संक्रमित गर्भवती महिलाले प्रसुती सेवा लिएका छन् । यस वर्षको जेष्ठ महिनायता ६१ जना संक्रमित गर्भवतीले प्रसुती सेवा लिएका हुन् ।
अस्पतालका अनुसार गत जेष्ठ महिनादेखि अहिलेसम्म पाँच सय १२ जना गर्भवतीले प्रसुती सेवा लिएका छन् । ति मध्ये ६१ जना कोरोना संक्रमित गर्भवती महिला हुन् । उनीहरु मध्ये एक जनाको शल्यक्रिया गरिएको हो भने बाँकीको सामान्य नै भएको अस्पतालले जनाएको छ ।
अस्पतालका प्रसूति रोग विभाग प्रमुख डा.सुनिलमणि पोख्रेलका अनुसार अहिलेसम्म कोरोना संक्रमित गर्भवती आमाबाट जन्मिएको बच्चामा संक्रमण देखिएको छैन । तर संक्रमित आमाबाट जन्मिएको बच्चामा सामान्य निमोनिया भने हुन सक्ने उनको भनाई छ । उनी भन्छन्, “अहिलेसम्म जति पनि रिसर्च भइरहेको छ यस अनुसार संक्रमित महिलाहरुबाट जन्मिएको बच्चाहरुलाई संक्रमण देखिएको छैन । तर सुरुवातमा बच्चालाई निमोनिया हुने समस्या भने आउन सक्छ’ ।
कोभिड संक्रमित महिलाहरुमा समय अघि व्यथा लाग्ने, आमालाई गाह्रो हुने अवस्था हुन सक्छ । उनका अनुसार एक्टिभ इन्फेक्सनको अवस्थामा संक्रमित आमाले बच्चालाई स्तनपान गराउँदा भने समस्या हुन सक्छ । संक्रमित महिलाबाट जन्मिएको शिशुलाई संक्रमणबाट बचाउन आमाले स्वास्थ्य सतर्कता अपनाउन पर्ने समेत उनको भनाइ छ ।
प्रसुती सेवाका भरतपुर अस्पताल रोजाइमा पर्ने गरेको छ । दक्ष तथा अनुभवी चिकित्सक र दक्ष प्रसुती सिए तालिम गरेका नर्सहरुका कारण चितवनसहित देशका बिभिन्न जिल्लाका गर्भवतीहरुले प्रसुती सेवाका लागि भरतपु अस्पताल नै रोज्ने गरेको अस्पतालकी वार्ड इन्चार्ज हिरा सुवेदीले बताईन् ।
अहिले भरतपुर अस्पतालमा औषतमा दैनिक ४० जना महिला सुत्केरी हुने गरेका छन् । अस्पतालमा एक सातादेखि कोरोना संक्रमित सुत्केरी महिला भने शुन्य छ ।


