पौष १५, काठमाडौं ।नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि ११ वटा समूहले आफ्नो धारणा राखेका छन् ।काठमाण्डौको कमलादीमा रहेको नेपाल प्रज्ञा भवनको सभाहलमा भइरहेको बन्द सत्रमा हिजो ११ वटा समूहका संयोजकले प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष सुनाएका हुन् ।
आज बाँकी १४ समूहले निष्कर्ष सुनाउने छन् । काठमाण्डौमा चलिरहेको बन्द सत्रमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक तथा वैचारिक प्रतिवेदनमा विभिन्न २५ वटा समूह बनाएर छलफल थालिएको थियो ।
Advertisement
आज बिहान ११ बजेदेखि बाँकी १४ समूहले छलफलका निष्कर्ष राख्ने माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिनुभयो । हिजो सुझाव तथा निष्कर्ष राख्दै प्रतिनिधिले नेपाली समाजवादी क्रान्तिका आधारहरु के–के हुन् भन्ने बारेमा स्पष्ट हुनुपर्नेमा जोड दिएका थिए ।
पलायन भएको युवा जनशक्ति नेपाल फर्काएर समाजवादी आन्दोलन अगाडि बढाउने स्पष्ट खाका नआएको टिप्पणी गरेका छन् । एमसीसी लगायतका सबैखाले सम्झौता खारेज गर्ने नीति महाधिवेशनले लिनुपर्नेमा पनि प्रतिनिधिको जोड छ।

