मङ्सिर १०, चितवन । आज (शुक्रबार) बाट चितवनको नारायणी नदी किनारमा नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन सुरु हुँदै छ। महाधिवेशनको भव्य तयारी सकिएको छ। नारायणी नदी किनारमा आज उद्घाटन सत्र हुनेछ भने पर्यटकीय नगर सौरहामा बन्दसत्र हुनेछ।महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले मध्याह्न १२ बजे गर्ने कार्यक्रम तय गरिएको एमालेका सचिव एवं प्रचारविभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।
१० देखि १२ मंसिर गरी तीन दिनसम्म हुने सो महाधिवेशनमा देशभरबाट नेता कार्यकर्ता जम्मा हुने क्रम जारी छ। सो महाधिवेशनमा सहभागी हुन र अवलोकन गर्न देशभरबाट झन्डै ५ लाख नेता/कार्यकर्ता शुक्रबारसम्म चितवन आइपुग्ने नेकपा एमालेले जानकारी दिएको छ। महाधिवेशनका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसहित अधिकांश नेताहरू बिहीबार नै चितवन आइपुगेका छन्।
Advertisement
बन्दसत्रमा २ हजार १ सय ७५ प्रतिनिधि सहभागी हुँदै छन्। कार्यक्रमको उद्घाटन हुने नारायणी नदी किनारमा मञ्चसहितका सबै संरचना तयार भएका छन्। ५० ठाउँमा स्वागत गेट र २५ ठाउँमा ‘सेल्फी प्वाइन्ट’ बनाइएको छ। चितवनका प्रत्येक घरमा निमन्त्रणापत्र पठाइएको एमालेले जनाएको छ।

