मङ्सिर १०, काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको चौंथो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज शुक्रबार मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्दैछ।नेपाल र मलेसियाको खेल दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा हुनेछ। खेल बिहान सवा ११ बजे सुरु हुनेछ। ग्लोबल छनोटको सम्भावना कायमै राख्न नेपालले मलेसियाविरुद्ध जित हात पार्नुपर्ने हुन्छ। त्यसैले नेपाल जित निकाल्ने योजनामा हुनेछ।
सन् २०१९ मा भएको दुई भेटमा नेपालले मलेसियालाई हराएको थियो। नेपाल त्यस जितलाई कायम राख्न चाहन्छ। मलेसिया भने नेपालसँग यस अघि व्यहोरेको हारको बदला लिन चाहन्छ।
Advertisement
प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो। नेपालले दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएको थियो।
यस्तै नेपालले बिहीबार कुवेतलाई ९ विकेटले हराउँदै विश्वकपको ग्लोबल छनोट पुग्ने सम्भावना जिवितै राखेको छ। मलेसियाले भने तीन खेलमा मात्र एक जित निकालेको छ।
नेपाल ३ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। मलेसिया २ अंक जोडेर चौंथो स्थानमा रहेको छ। प्रतियोगिताको पाँचौ खेलमा नेपालले आइतबार युएईविरुद्ध खेल्ने छ।
छनोटमा ६ टिम सहभागी छन्। छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन्।

