मङ्सिर ०६, काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत पहिलो चरणको अन्तिम दिन आज सोमबार दुई खेलहरु हुँदैछन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। आर्मी र पुलिसबीचको विभागीय डर्बी खेल दिउँसो १ बजे सुरु हुनेछ।
दशरथ रंगशालामा आज दुबै टिम जित निकाल्दै सिजनको सुखद सुरुआत गर्ने योजनामा रहेका छन्। आर्मी साविक उपविजेता टिम समेत हो। आर्मी भरत खवासको कप्तानीमा मैदान उत्रनेछ। पुलिस राम बाजीको कप्तानीमा मैदान उत्रनेछ।
यस्तै दोस्रो खेलमा साविक विजेता मछिन्द्र एफसी र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ। मछिन्द्र र एनआरटीबीचको खेल पौने ५ बजे सुरु हुनेछ। उपाधि दाबेदार मछिन्द्र एनआरटीलाई हराएर सुखद सुरुआत गर्ने योजनामा हुनेछ। सुजल श्रेष्ठको कप्तानी रहेको मछिन्द्र उपाधि रक्षाको योजनामा रहेको छ।
यस्तै अजित प्रजापतिको कप्तानीमा रहेको एनआरटी पनि विजयी सुरुआतको लक्ष्यमा रहेको छ। लिगमा ‘ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन्। यस पटकको लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा झर्ने छन्।

