असोज १५, चितवन । कोरोना भाईरस नियन्त्रणका लागि चितवनमा जारी निषेधाज्ञा थप भएको छ । जिल्ला प्रशासन कार्यालयले शनिबारदेखि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । आज (शुक्रबार) जारी आदेशमा ‘नो मास्क नो मुभमेन्ट’ अभियान सञ्चालन गर्ने उल्लेख छ । उक्त अभियानले मास्क नलगाई हिडडुल गर्न रोक लगाउनेछ । कुनै पनि सार्वजनिक कार्यालय, सवारी साधन, बजार तथा सपिङ कम्प्लेक्समा मास्क बिना मास्क प्रवेश गर्न पाइनेछैन । “सार्वजनिक सरोकारका कार्यालयहरु जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, यातायात, अस्पताल, सवारी साधन, क्याम्पस, हाटबजार, सपिङ कम्प्लेक्स, सुपरमार्केट आदिमा अनिवार्य मास्क लगाउनुपर्ने” – आदेशमा भनिएको छ ।
यस्तै प्रशासनले चाडपर्वहरु सांकेतिक रुपमा मात्रै मनाउन भनिएको छ । “चाडपर्वहरु स्वास्थ्य मापदण्डहरु पूर्ण पालना गरी न्युनतम सहभागीतामा सांकेतिक रुपमा सकेसम्म घर भित्रै परिवारका व्यक्तिहरु मात्रै सामेल हुने गरी मनाउने”, जारी आदेशमा भनिएको छ ।चाडपर्वमा भिडभाड हुने गरी अस्थाई प्रकृतिका मुर्ति स्थापना नगर्न पनि प्रशासनले आग्रह गरेको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालयमा मास्क बैंक स्थापना गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी आसमान तामाङले मास्क बैंकमा मास्क उपलब्ध गराउन सबै संघ संस्थाहरुलाई आग्रह गरिने बताएका छन् ।
यस्तै सबै बढी जनसम्पर्क हुने कार्यालयहरु, सार्वजनिक सवारी साधन, बसपार्क अस्पताल लगायत बढी भिडभाड हुने स्थानमा मास्कको उपयोगीता सम्बन्धी सचेतना फैलाउने प्रजिअ तामाङले बताएका छन् । उनका अनुसार घटस्थापनादेखि फुलपातीसम्म मास्क अभियान समेत सञ्चालन गरिनेछ ।

