चितवन, भदौ ९ ।
जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञालाई खुकुलो बनाउँदै लगेको छ । चितवनमा कोरोना भाइरसका बिरामी घट्दै गएपछि प्रशासनले निषेधाज्ञालाई खुकुलो बनाउँदै लगेको हो । प्रशासनले निषेधाज्ञालाई थप गर्दै भदौ २० गतेसम्म पु¥याएको छ । भदौ १० गते राति देखि लागु हुने गरि प्रशासनले बजार दैनिक ६ घण्टा खोल्न दिने भएको छ ।
यसअघि बजार हप्तामा तीन दिन मात्र खुल्दै आएको थियो । इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, भाँडा, फेन्सी, कपडा, कस्मेटिक तथा गिफ्ट, डिपार्टमेन्टल स्टोर, सुनचाँदी, फर्निचर, अटोमोबाईल, जुत्ता, पुस्तक तथा स्टेसनरी, निर्माण सामग्री, लगायतका पसल र खाजा घर, रेष्टुरेण्ट मिठाई पसलहरु दैनिक दिउँसो १२ देखि ६ बजेसम्म सञ्चालन गर्न पाईने प्रशासनले जानकारी दिएको छ । तर, पसल सञ्चालन गर्दा अनिवार्य जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरिएको छ ।
यसैगरी जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारी साधानमा भने जोर विजोर प्रणाली लागु गरिएको छ । अझै पनि जिल्ला प्रशासन कार्यालय चितवनले भौतिक रुपमा उपस्थित भई हुने सबै प्रकारका सभा, सम्मेलन, प्रदर्शन, भेला, जात्रा, महोत्सव, सिनेमा, पार्टी प्यालेस, जिमखाना, लगायतका मनोरञ्जन स्थल, फनपार्क पुर्ण रुपमा सञ्चालन गर्न रोक लगाईएको छ । चितवनमा बैशाख १७ गतेदेखि निषेधाज्ञा लागु छ । विस्तारै कोरोना संक्रमित घट्दै गएपछि निषेधाज्ञालाई खुकुलो बनाउँदै लगिएको छ । जिल्लामा अझै १ हजार ८ सय ४४ जना संक्रिय संक्रमित छन् ।




