चितवन । नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ।
संघले सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको उक्त सहयोगको रकम दाखिला गरिएको भौचर भरतपुर महानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष केशव महर्जनलाई बिहीबार हस्तान्तरण गरिएको हो।
भौचर ग्रहण गर्दै वडा अध्यक्ष महर्जनले विपद्को समयमा सुनचाँदी व्यवसायी संघ चितवनले गरेको सहयोग प्रशंसनीय रहेको बताउनुभयो। उहाँले विपद्का बेला पीडितको उद्धार तथा राहतका लागि निजी क्षेत्रको सहकार्य र सामाजिक उत्तरदायित्व महत्वपूर्ण हुने उल्लेख गर्नुभयो।
संघका अध्यक्ष हेमबहादुर विश्वकर्माले विपद्को समयमा पीडितको साथमा उभिनु व्यवसायीको सामाजिक दायित्व भएको बताउनुभयो। सहयोग सानो भए पनि यसले राहत तथा उद्धार कार्यमा योगदान पुर्याउने उहाँको भनाइ थियो।
यसअघि संघले एकद्वार राहत संकलन अभियानअन्तर्गत नेपाल सुनचाँदी व्यवसायी महासंघलाई ३ लाख २६ हजार ९ सय ४२ रुपैयाँ तथा चितवन उद्योग वाणिज्य संघलाई १ लाख ५० हजार ५ सय रुपैयाँ सहयोग गरिसकेको जनाएको छ।
रकम हस्तान्तरण कार्यक्रममा वडा नम्बर १ का वडा सदस्यहरू मनोज घिमिरे र राममाया पियासहित नेपाल सुनचाँदी व्यवसायी महासंघ तथा सुनचाँदी व्यवसायी संघ चितवनका पदाधिकारी, सल्लाहकार र सदस्यहरूको उपस्थिति रहेको थियो।



