काठमाडौँ-
विनाशकारी बाढी प्रभावित रसुवा र नुवाकोटका जलविद्युत् आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीन कामदारको खोजी तथा उद्धारमा सम्बन्धित कम्पनीलाई पनि सहभागी गराउन थालिएको छ।
यसअघि जलविद्युत् आयोजनासँग सम्बन्धित कम्पनी तथा निजी क्षेत्रका प्रतिनिधिले आफ्नै प्राविधिक जनशक्ति, उपकरण र क्षमता हुँदाहुँदै पनि उद्धारमा सहभागी हुन सरकारले अनुमति नदिएको गुनासो गर्दै आएका थिए।
इप्पानको टोलीले मंगलबार ऊर्जा मन्त्री श्रेष्ठसँग भेट गरी उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन आवश्यक समन्वयको माग गरेको थियो । भेटका क्रममा इप्पान सम्बद्ध संस्थाहरूले बाढी प्रभावितका लागि १३ करोड १ रुपैयाँ बराबरको सहयोगसमेत हस्तान्तरण गरेको आचार्यले बताए।
भदौ १० गते आएको बाढीका कारण रसुवा र नुवाकोटका १२ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । अझै पनि ८९४ जना कर्मचारी तथा श्रमिक सम्पर्कविहीन रहेको बताइएको छ। रसुवामा कोरियन कम्पनी एनडब्लूईडीसीले निर्माण गरिरहेको २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा मात्रै अझै ५७३ जना सम्पर्कविहीन छन्।
उक्त कम्पनीले आफूहरूले उद्धारका लागि अनुमति मागेपनि सरकारले नदिएको सार्वजनिक रूपमै बताएको थियो । अब भने नेपाली सेना, भारतीय र चिनियाँ प्राविधिक टोली र सम्बन्धित कम्पनी समेत खोजीमा जुट्ने भएका छन्।


