भदौ १५, भरतपुर –
पृथ्वी राजमार्गको परेवाभिर र शीतल बजार क्षेत्रमा राजमार्ग भासिनुका साथै चिरिन लागेको छ ।
धादिङ्गमा पर्ने गजुरी गाउँपालिका वडा नम्बर २ को परेवाभिर र बेनिघाट रोराङ्ग गाउँपालिकाको वडा नम्वर ७, शीतल बजार क्षेत्रमा राजमार्ग भासिएर त्रिशुली नदीमा खस्न शुरु भएको छ ।
पृथ्वी राजमार्ग नौविसे – मलेखु पुनर्निर्माण आयोजनाका इन्जिनियर राजिव मानन्धरका अनुसार राजमार्ग भासिएर त्रिशुलीमा झर्न थालेको छ ।
“त्रिशुली नदी तर्फवाटै भत्किएर झर्न सुरु गरि सकेको छ , सडक चिरिएको छ । समस्या जटिल बन्दै छ”, उहाँले भन्नुभयो ।
परेवाभिरमा १०० मिटर र शीतलबजारमा २० मिटर सडक चिरिएर भासिएको उहाँले जनाउनुभयो ।
त्रिशूली नदीमा आएको बाढीपछि नदीको धार परिवर्तन भई सडकतर्फ कटान बढ्दा कृष्णभिरमा राजमार्गको ठूलो भाग क्षतिग्रस्त भएको हो । एउटै प्रकृतिको जोखिम धेरैस्थानमा देखिएपछि पृथ्वी राजमार्गको दीर्घकालीन सुरक्षामा समेत प्रश्न उठेको छ । सडक विभागका सिनियर डिभिजन इन्जिनियर सुरेश पौडेलले कृष्णभिरमा देखिएको क्षति आफूहरूले कल्पना गरे भन्दा बाहिरको भएकोे बताउनुभयो । उहाँले यहाँको मुख्य समस्या त्रिशूली नदीको कटान नै भएको बताउनुभयो ।
“कृष्णभिर भासिने समस्या कल्पना नै नगरेको समस्या आयो । त्रिशूली नदीको कटान नै मुख्य कारण हो,” उहाँले भन्नुभयो, “बाढीले नदीको सतह बढ्यो । नदीले धार परिवर्तन गरेर सिधै राजमार्गतर्फ हान्दा सडक बगायो”, विभागले गठन गरेको अध्ययन समितिका संयोजक समेत रहनु भएका पौडेलले भन्नुभयो । उहाँहरुले आइतबार मात्रै स्थलगत निरीक्षण गर्नुभएको छ ।
नारायणगढ मुग्लिन सडकमा पनि पहिरो
नारायणगढ–मुग्लिन सडकखण्डको ३१ किलो क्षेत्रमा समेत सडक भासिने समस्या देखिएको छ । इच्छाकामना गाउँ पालिका वडा नम्वर ६ मा पर्ने सो स्थानमा सडक छेउवाटै झण्डैँ चार मिटर भासिएर पहिरो गएको छ ।
यो क्षेत्र नारायणगढवाट ३१ किलो मिटर पूर्व र मुग्लिनवाट ५ किलो मिटर पश्चिममा पर्छ । पहिरो झर्ने स्थानलाइ स्थानियले चोर खोला पनि भन्ने गर्दछन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख ट्राफिक प्रहरी निरिक्षक अनिल थापाका अनुसार आइतवार राति राजमार्गसगैँ जोडिएको चार मिटर खण्ड पहिरोले त्रिशुली नदिमा झारेको छ ।
“राजमार्गसगै रहेको क्षेत्र पहिरोले झारेको छ । सडकसगैँ रहेको पोल पनि पहिरोले लग्यो”, उहाँले भन्नुभयो ।
उता, धादिङ्गको बेनीघाट रोराङ्ग गाउँ पलिका वडा नम्वर ७ मा रहेको कृष्णभिरमा एक सय २० मिटर लम्बाई र नौ मिटर चौडाई राजमार्ग भासिएर त्रिशुलीमा खसेको छ ।
पृथ्वी राजमार्ग र यसका सहायक मार्गहरुमै सडकको संरचना कमजोर बन्न थालेपछि तत्कालीन मर्मतसँगै दीर्घकालीन जोखिम मूल्याङ्कन आवश्यक देखिएको विज्ञले औँल्याउनुभएको छ ।


