सुर्खेत –
कर्णालीमा सोमबार बिहान ११ बजेका लागि राखिएको मन्त्रीको शपथ कार्यक्रम स्थगित गरिएको छ । मन्त्री छनोटमा कुरा नमिलेपछि शपथ कार्यक्रम नै स्थगित भएको हो ।
यसअघि मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश प्रमुखको कार्यालयमा फोन गरेर शपथका लागि समय माग गरेका थिए । प्रदेश प्रमुखको कार्यालयले ११ बजेका लागि समय तोक्यो । तर मुख्यमन्त्री शाहीले मन्त्रीको सिफारिस पठाउन सकेनन् । अहिले मुख्यमन्त्री शाही स्वयम् प्रदेश प्रमुखको कार्यालयमा पुगेर प्रदेश प्रमुख यज्ञराज जोशीसँग भेट गरी शपथ कार्यक्रम स्थगन गरिदिन आग्रह गरेको स्रोतले बताएकाे छ ।
Advertisement
साबिक समाजवादी धारले कल्याणी खड्कालाई जसरी पनि मन्त्री बनाउनुपर्ने भनेको छ । साबिक समाजवादीका एक जना मात्रै समानुपातिक सांसद छिन् ।
साथै,अन्य सांसदले पनि मन्त्रीका लागि दाबी गरिरहेकाले मुख्यमन्त्री शाहीलाई मिलाउन सकस भएको छ । भागबन्डा अनुसार, नेकपाको भागमा ३ मन्त्रालय परेको छ । एमालेले भने आफ्नो भागमा परेका ३ मन्त्रालयमा यसअघि मन्त्री पठाइसकेको छ ।


