भरतपुर- चितवनको भरतपुर महानगरपालिकाभित्रका विभिन्न शैक्षिक संस्थामा कक्षा ११ र १२ मा अध्यापनरत शिक्षकहरूको भेला सम्पन्न भएको छ। भदौ ६ गते फोर सिजन पार्टी प्यालेसमा सम्पन्न भेलाले शिक्षकहरूको कार्यभार तथा पारिश्रमिकसँग सम्बन्धित विषयमा छलफल गर्दै संघर्ष समिति गठन गरेको हो।
नेपाल सरकारले हालै गरेको आइतबारको सार्वजनिक बिदा समायोजनका विषयमा भेलामा विस्तृत छलफल गरिएको थियो। छलफलका क्रममा केही शैक्षिक संस्थाले कक्षा ११ र १२ मा अध्यापनरत शिक्षकको कार्यभार तथा पारिश्रमिक निर्धारण गर्दा हालसम्म हप्तामा ६ पिरियडलाई एक ‘फ्ल्याट’ मानेर व्यवस्था गरेको पाइएको शिक्षकहरूले बताएका छन्।
सरकारको बिदा समायोजनअनुसार कार्यसमय तथा पिरियड समायोजन गर्दा ५ पिरियडलाई एक फ्ल्याटका रूपमा कायम गर्नुपर्ने अवस्थामा पनि ६ पिरियडलाई नै एक फ्ल्याट कायम गर्नु शिक्षकहरूको श्रम, समय र पारिश्रमिकका दृष्टिले अन्यायपूर्ण भएको भेलाको निष्कर्ष छ।
शिक्षकहरूको हकहितमा प्रतिकूल असर पर्ने उक्त व्यवस्थाविरुद्ध कक्षा ११ र १२ मा अध्यापनरत शिक्षकहरू एकताबद्ध भई सम्बन्धित शैक्षिक संस्थाहरूको ध्यानाकर्षण गराउने निर्णय गरेका छन्। शिक्षकहरूको न्यायोचित मागलाई संस्थागत रूपमा अगाडि बढाउन भेलाले संघर्ष समिति गठन गरेको हो।
भेलाबाट भुमेश्वर गैरेको अध्यक्षतामा संघर्ष समिति गठन गरिएको छ। समितिको उपाध्यक्षमा भरत भट्ट, सचिवमा कृष्णप्रसाद रेग्मी, सहसचिवमा अस्मिता पगेनी, कोषाध्यक्षमा मोहन श्रेष्ठ र वरिष्ठ सदस्यमा रवी पौडेल चयन भएका छन्।
त्यस्तै, मार्तण्ड पौडेलको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको छ। समितिका सदस्यमा श्रीकृष्ण अधिकारी, रिना गिरी, श्रीकृष्ण पौडेल र राजु विक रहेका छन्।
संघर्ष समितिका सदस्यहरूमा कृष्णहरी पोखरेल, दिपेन्द्र घिमिरे, शम्भु बर्तुला, मेरिन डाँडा मगर, सोनु अर्याल, दिनेश घिमिरे, फडिन्द्र अधिकारी, सजेष पियाँ, बिष्णु दवाडी, भरत भट्ट, कृष्णप्रसाद रेग्मी, विकास घिमिरे, निरज लामिछाने, भुमेश्वर गैरे, मोहन श्रेष्ठ, रवि पौडेल, विज्ञान अधिकारी, लक्ष्मी चापाङ्गाई, रन्जित थापा, संकल्पजङ राणा, राजु पौडेल, सालीक्राम नेपाल र सरोज लामा रहेका छन्।
शिक्षकहरूले सम्बन्धित शैक्षिक संस्थासँग कार्यसमय, पिरियड तथा पारिश्रमिकको न्यायोचित समायोजन गर्न माग गर्दै आगामी दिनमा संस्थागत रूपमा पहल तथा आवश्यक संघर्षका कार्यक्रम अघि बढाउने बताएका छन्।


