५ भदौ, बारा –
बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्याको विरोधमा वीरगञ्ज-पथलैया सडकखण्ड आज तेस्रो दिन पनि अवरुद्ध छ ।
गरिमाका लागि न्याय माग्दै उनका परिवारले सडकमै धर्ना दिएपछि उक्त सडक खण्ड तीन दिन यता अवरुद्ध छ । बिहीबार राति प्रशासनले स्थानीय ब्यक्तिहरूसँग सहमति गरेको भए पनि मृतकका परिवारले आफूहरूको अनुमति बिना गरिएको सहमति मान्य नरहेको भन्दै सडक छाड्न मानेका छैनन् ।
मृतक गरिमाका बाबु मनोज चौधरीले थाहै नदिई प्रशासनले राजनीतिक दलका मानिसहरूसँग गरेको सहमति आफूलाई मान्य नरहेको बताए । गृहमन्त्री सुधन गुरुङ र कानुन मन्त्री सोबिता गौतम आएर नेपालको कानुन संशोधन गर्ने प्रतिबद्धता जनाउनुपर्ने मृतकका बाबु मनोजको माग छ ।
आफ्नी नाबालिका छोरीको बलात्कारपछि भएको क्रूर हत्याका अपराधीले मृत्यु दण्ड नपाएसम्म आफूहरूले न्यायको अनुभूति गर्न नसक्ने उनको भनाइ छ । सुरुमा इलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुखको लापरबाहीले घटना भएको भन्दै उनको सरुवा मागेका स्थानीयबासीले डीएसपी दिलिप क्षेत्रीको सरुवा भएपछि प्रशासनसमक्ष पाँचबुदे सहमति गरेका थिए । मध्यरातमा भएको सहमतिमा आफूहरूको अनुमति नलिइएको र त्यसमा आफ्नो सहमति नरहेको उनले बताए ।


