काठमाडौँ-
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बस्दैछ । दिउँसो १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बोलाएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
पार्टीको निर्णय विपरीत बागमती प्रदेशमा संसदीय दलका नेता उद्धव थापाले नेकपा एमालेबाट मुख्यमन्त्रीको उम्मेदवार रहेका किरण थापालाई समर्थन गरेको विषयमा निर्णय लिन बैठक बोलाइएको श्रेष्ठले बताए ।
‘पार्टीको निर्णय विपरीत बागमतीमा संसदीय दलको नेताले एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको छ । कुनै एक व्यक्तिले गरेको समर्थनलाई संसदीय दलको समर्थन भन्न मिल्दैन । एकजनाले मात्र समर्थन गरेर सरकार बन्दैन’, रातोपाटीसँग श्रेष्ठले भने– ‘उहाँलाई पार्टीले १२ घण्टे स्पष्टीकरण सोधेको छ । त्यतिबेलासम्म चित्तबुझ्दो जवाफ आएन भने कारबाही गर्छौँ । त्यसका लागि अहिले ११ बजे केन्द्रीय अनुशासन आयोगको बैठक बोलाइएको छ ।’
राप्रपा भित्रको विवादका कारण मुख्यमन्त्री पदमा दाबी पेस गर्ने तयारी अन्योलमा परेको छ ।


