साउन ३१, चितवन।
बुद्ध एयरले आज देखि भरतपुर–भैरहवा उडान शुरु गरेको छ । एयरले आज दिउँसो १२ः५५ वजे १७ जना यात्रु लिएर भैरहवाका लागि प्रस्थान गरेको हो । हप्ताको तीनदिन आइतबार, बुधबार र शुक्रबार उडान गर्ने छ । पर्यटकीय नगरीसँग हवाई उडान जोड्नका लागि उडान शुरु गरिएको कम्पनीका भरतपुर शाखा प्रबन्धक भक्तबहादुर बस्नेतले जानकारी दिनु भयो ।
नारायणगढ–बुटवल सडक विस्तारका कारण यात्रुले सास्ती व्यहोर्दे आएको अवस्थामा बुद्धएयरले उडान भदा यात्रुहरुलाई सहज समेत हुने छ । भैरहवा उडानका लागि एकतर्फी भाडा रु दुई हजार ८३५ देखि रु चार हजार ३३५ सम्म तय गरिएको छ । बुद्ध एयरले भरतपुर–काठमाडौँ नौ उडान गरिरहेको छ । यस्तै भरतपुर–पोखरा दैनिक एक उडान रहेको छ ।
कोरोना कहरका कारण गरिएको निषेधाज्ञा खुकुलो भएसँगै एयरलाइन्सले उडान शुरु गरेको हो । सन् २००५ बाट चितवनमा उडान शुरुआत गरेको कम्पनीले निषेधाज्ञा अघिसम्म भरतपुर–काठमाडौँ दैनिक १२ उडान भर्दै आएको थियो । चितवन तेस्रो पर्यटकीय गन्तव्य हो । यहाँ उडानको सञ्जाल जोडिएसँगै पर्यटक बढ्ने अपेक्षा गरिएको छ ।

