पुस २०, काठमाडौं-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारीको बससूची सच्याउने लगायत प्राविधिक विषय मिलाउन तीन सदस्यीय कार्यदल बनाउने भएको छ । शनिबार राति केन्द्रीय कार्यालय वनस्थलीमा सकिएको त्रिपक्षीय बैठकमा कार्यदल बनाउने सहमति भएको हो ।
यस्तै संगठानात्मक संरचना मिलाउन र नेताहरूको व्यवस्थापन मिलाउनका लागि सङ्गठन विभाग उपप्रमुख बोधनारायण श्रेष्ठको नेतृत्वमा सात सदस्य समिति बनाउने सहमति भएको छ । त्यसमा कुलमान र बालेन समूहले नाम पठाएपछि काम सुरु हुने स्रोतले बतायो ।
‘प्राविधिक र साङ्गठनिक तथा वैचारिक विषयमा देखिएका त्रुटि हल गर्न कार्यदल बनाएर काम गर्ने सहमति भएको छ । त्यसलाई शीर्ष नेता बसेर अन्तिम रूप दिनुहुन्छ । हाम्रो तर्फबाट काम सकिएको छ’, रातोपाटीसँग स्रोतले भन्यो ।
रास्वपाले आयोगमा बुझाएको ११० जनाको बन्दसूचीमा उज्यालो नेपालको जम्मा १४ जना मात्र परेपछि असन्तुष्टि चुलिएको थियो । यस्तै पुस १४ गते भएको ७ बुँदे सहमतिमा सङ्घीयता, धर्मनिरपेक्षताको विषयमा पनि उज्यालोका नेताहरूले प्रश्न उठाएका थिए ।
शनिबार ३ देखि राति १० बजेसम्म रास्वपाको केन्द्रीय कार्यालयमा छलफल भएको थियो । यी सबै विषयमा निर्णय लिन आज रास्वपाले दिउँसो १ बजे केन्द्रीय समिति बैठक बोलाएको छ ।


