१७ पुस, काठमाडौं-
काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौंको माइतीघरमा आमरण अनशन बसिरहेका डा. निकोलस भुसाल र हरिश विष्टको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
भ्रष्टाचारको छानबिन र दोषीमाथि कारबाहीको माग राख्दै विगत १० दिनदेखि माइतीघर मण्डलामा अनशनरत उनीहरूको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरकारलाई सचेत गराएको हो।
आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार, आयोगले अनशनस्थलको निरन्तर अनुगमन गरिरहेको छ। पछिल्लो अनुगमनका क्रममा डा. भुसाल र विष्टको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको पाइएको छ। विशेषगरी डा. भुसालको रक्तचाप निकै कम भएको र रगतमा चिनीको मात्रा समेत घटेको आयोगले जनाएको छ।
अनशनकारीहरूको बिग्रँदो स्वास्थ्य अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आयोगले उनीहरूको प्रभावकारी स्वास्थ्य उपचारका लागि तत्काल पहल गर्न सरकारलाई आग्रह गरेको छ। साथै, वार्ताको माध्यमबाट अनशनरत पक्षका मागहरूको सम्बोधन गरी निष्कर्षमा पुग्न र उनीहरूको जीवन रक्षा गर्न आयोगले नेपाल सरकार समक्ष माग गरेको छ।

