६ साउन, भरतपुर –
जन्मदिन भनेको प्राय: साथीभाइसँग रमाइलो गर्ने, केक काट्ने र उत्सव मनाउने अवसर मानिन्छ। तर, भरतपुरका युवा व्यवसायी सुलभ सिग्देलका लागि जन्मदिन भनेको अरूका लागि केही दिने अवसर हो — आशा दिने, प्रेरणा दिने र सेवा गर्ने।
यस वर्षको साउन महिनामा ३८औं वसन्तमा पाइला टेक्दा, सिग्देलले त्यो दिनलाई आफ्ना लागि होइन, समाजका लागि अर्थपूर्ण बनाउने निर्णय गरे। उनले रक्तदान कार्यक्रमको आयोजना गरे — त्यहाँ जीवनको रङ थिए, सेवा गर्ने उत्साह थियो र सँगै थिए युवाको जमात, जसले समाज परिवर्तनको सपना देखिरहेका छन्।
एक दशकअघि सैलुन व्यवसायबाट आफ्नो यात्रा सुरु गरेका सिग्देल अहिले “पपुलर युनिसेक्स सैलुन” का सञ्चालक हुन्। भरतपुरको सी.जी. ल्याण्डमार्कको तेस्रो तलामा रहेको यो सैलुन अहिले १० जना युवाहरूको जीवनको सहारा बनेको छ। अझै गर्वको कुरा के भने, उनले हालसम्म करिब ५ हजार युवालाई सैलुन तालिम दिएर आत्मनिर्भर बनाएका छन्।
तर, सिग्देलको सोच केवल व्यवसायमै सीमित छैन। सामाजिक सेवा र युवाको सशक्तीकरण उनका जीवनका आधारभूत मूल्य हुन्। यही सोचबाट उनले स्थापना गरेका हुन् — पपुलर जागरण प्रा. लि. नामक संस्था, जसको माध्यमबाट सामाजिक गतिविधिहरूलाई निरन्तरता दिने लक्ष्य लिएका छन्।
संस्थाको पहिलो वर्षगाँठ र आफ्नो जन्मदिनलाई एकैसाथ मनाउँदै सिग्देलले नि:शुल्क कपाल काट्ने तालिम, उद्घोषण तालिम, कपडा झोला बुन्ने तालिम, र दुना-टपरी बनाउने तालिम सुरु गर्ने घोषणा गरे। उनका अनुसार, यी तालिमहरूबाट सयौँ युवाहरूले प्रत्यक्ष लाभ लिनेछन्।
सुलभ सिग्देल जस्ता युवा व्यवसायीहरूले देखाएको यस्तो उदाहरणले सन्देश दिन्छ — “सफलता केवल कमाउने होइन, बाँड्न सकिने हो।” र जब कुनै व्यक्ति आफ्नो विशेष दिन अरूका लागि समर्पित गर्छ, तब त्यो दिन साँच्चै विशेष बन्छ।
www.facebook.com/share/v/1AvzcKa1LF/

