विजयनगर, असोज १९ – हंस बहुउद्देश्यीय सहकारी संस्था लि. ले आफ्नो २१ औं वार्षिक साधारण सभाको अवसरमा विजयनगरस्थित तथास्तु पार्टी प्यालेसमा निशुल्क दन्त परिक्षण तथा उपचार कार्यक्रम सम्पन्न गरेको छ। यस कार्यक्रममा विजयनगर सेवाकेन्द्र अन्तर्गतका सेयर सदस्य र स्थानीय बासिन्दालाई लक्षित गरी दन्त सेवा प्रदान गरिएको थियो।
कार्यक्रमको अध्यक्षता संस्थाका संचालक सदस्य तथा विजयनगर सेवाकेन्द्र व्यवस्थापन उपसमितिका संयोजक ध्रुब कुमार ओझाले गरेका थिए। प्रमुख अतिथि संस्थाका उपाध्यक्ष बाबुराम अधिकारीले सहकारी संस्था आर्थिक कारोबारसँगै सामाजिक उत्तरदायित्व पनि वहन गर्नुपर्ने भएकाले यो निशुल्क दन्त परिक्षण कार्यक्रमले समाजप्रति संस्थाको चासो झल्काएको बताए। उनले सहकारीले सामाजिक सेवामा थप योगदान दिने योजना रहेको उल्लेख गरे।

विशिष्ट अतिथि चितवन हिमाल डेन्टल प्रा. लि. का व्यवस्थापक जयराम जोशीले सहकारीको यो प्रयासलाई प्रशंसा गर्दै
आफ्नो क्लिनिकले हंस बहुउद्देश्यीय सहकारी संस्थाका सदस्य हरुलाई दाँत उपचार सेवामा २० प्रतिशत छुट प्रदान गर्दै आइरहेको बताए।
कार्यक्रममा चितवन हिमाल डेन्टल प्रा. लि. का दन्त चिकित्सक डा. सन्देश थापाले स्वास्थ्य सेवा सबैको पहुँचमा हुनु आवश्यक रहेको र हंस सहकारीले जनताको स्वास्थ्यप्रति देखाएको यो चासो अत्यन्त सराहनीय भएको बताए। उनले सहकारी संस्थाले समाजमा स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन सकारात्मक भूमिका खेलेको उल्लेख गरे।
संस्थाका संचालक सदस्य सूर्य बरालले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै सहकारीको सामाजिक उत्तरदायित्व उल्लेख गरे। उनले निःशुल्क दन्त उपचार कार्यक्रमले स्थानीय बासिन्दालाई स्वास्थ्यप्रति सचेत बनाउन सहयोग पुर्याएको बताए।

कार्यक्रममा १७२ जनाको दन्त परिक्षण गरिएको थियो। जसमध्ये ५२ जनाको दाँतको एक्सरे गरिएको, ३२ जनाको दाँत सफा गरिएको, ४० जनाको बिग्रिएको दाँत निकालिएको र २५ जनाको दाँत भरेर उपचार गरिएको जानकारी हंस बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक नारायण प्रसाद सापकोटाले गराए।
उक्त कार्यक्रममा डा. मिरु श्रेष्ठ, विजयनगर सेवाकेन्द्रका प्रमुख श्रीकृष्ण श्रेष्ठ, व्यवस्थापन उपसमितिका सदस्यहरू विष्णु भट्ट, इश्वरी देवी अधिकारी, शंकर अधिकारी, रमा ढुंगाना र संस्थाका लेखा शाखा प्रमुख नविना अधिकारीको उपस्थिति रहेको थियो


