बिरगंज – पर्सा – वीरगञ्जस्थित किरण आँखा अस्पतालले आफ्नो सेवा विस्तार गर्दै बाराको सिमरामा पनि सुविधा सम्पन्न क्लिनिक संचालनमा ल्याएको छ।
शनिवार आयोजित एक कार्यक्रमका बीच जितपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले उक्त क्लिनिकको उद्घाटन गरे। यससँगै सिमरामा बसोबास गर्ने सर्वसाधारणले आँखा सम्बन्धि उपचारका लागि वीरगञ्ज धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ।
उद्घाटन समारोहमा नगर प्रमुख राजन पौडेलले सर्वसाधारणले गुनासो नगर्ने गरी गुणस्तरीय उपचार सेवा प्रदान गर्न आग्रह गर्दै, सिमरामा उपलब्ध भएको यो सेवा उपमहानगरवासीका लागि अत्यन्तै लाभदायक हुने बताए।
अस्पतालका संचालक एवम् डा. अमर केयालले सर्वसाधारणलाई सहजता प्रदान गर्न सेवा केन्द्र विस्तार गरिएको उल्लेख गरे।
उनले यस क्षेत्रका धेरै नागरिकले आँखा सम्बन्धि समस्याको उपचारका लागि वीरगञ्ज धाउनु पर्ने अवस्था रहेको र अब सबैलाई सहज बनाउने उद्देश्यले सिमरामा यो क्लिनिक स्थापना गरिएको बताए। डा. केयालले वीरगञ्जकै दक्ष चिकित्सकहरूको उपस्थितिमा सिमराबाट सेवा प्रदान गरिने जानकारी दिए।
यो सेवा विस्तारसँगै सिमरा र आसपासका क्षेत्रका नागरिकहरूलाई गुणस्तरीय आँखा उपचार सहजै उपलब्ध हुनेछ।

