वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्सामा डिजिटल स्मार्ट कन्ट्रोल रूमको उद्घाटन गरिएको छ । पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले कन्ट्रोल रुमको उद्घाटन गरेका हुन् ।
दैनिक प्रहरी परिचालनलाई व्यवस्थित बनाउँदै कुनै पनि घटना तथा गतिविधिहरूलाई छिटो छरितो सम्बोधन गर्न स्मार्ट कन्ट्रोल रूमले सघाउ पुग्ने प्रमुख जिल्ला अधिकारी भुसालले बताए ।
उनले भने, “यस डिजिटल कन्ट्रोल रूमको माध्यमबाट प्रहरीको गतिविधि प्रभावकारी रूपमा सञ्चालन गर्न सकिनेछ, जसले गर्दा आपराधिक क्रियाकलापमा कमी आउनेछ र शान्ति सुव्यवस्था कायम रहन सहयोग पुग्नेछ ।”
विभिन्न आधुनिक प्रविधिको प्रयोग गरी यो कन्ट्रोल रूमले प्रहरीको कार्यक्षमता वृद्धि गर्न र अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेल्ने जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुंगोलले बताए ।

सो अवसरमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका गणपती सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल लगायतको उपस्थिती रहेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए ।


