नेपाल सरकारका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले नेपालका कम्युनिष्ट वा बामपन्थी पार्टीहरुबिचको सहकार्य र एकतामा जोड दिनुभएको छ ।माडीको बसन्तपुरमा सम्पन्न सातौं स्व. भुवानीप्रसाद पौडेल स्मृति चितवन जिल्लास्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै नेकपा (माओवादी केन्द्र)का बरिष्ठ उपाध्यक्ष समेत रहनुभएका उहाँले ‘बामपन्थी पार्टीहरुमा बैचारिक साँस्कृतिक रुपान्तरण सहितको एकतामा जोड दिनुभएको हो ।
बैचारिक साँस्कृतिक संकटलाई नेपालको कम्युनिष्ट वा बामपन्थी आन्दोलनको सबैभन्दा ठूलो समस्याका रुपमा औंल्याउँदै उपप्रधानमन्त्री प्रकाशले बामपन्थी वा कम्युनिष्ट क्रान्तिकारीहरुले हालको राजनैतिक परिवर्तनलाई जोगाउँदै सामाजिक आर्थिक रुपान्तरण गर्नु पनि आवश्यक रहेको बताउनुभयो ।

हालको राजनैतिक परिवर्तन अपुरो रहेको र यसलाई विकास गर्दै समाजवादसम्म लैजानुपर्ने उहाँको भनाई थियो । उपप्रधानमन्त्री प्रकाशले बोल्नुअघि सोही मञ्चमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द बिप्लवले समेत बामपन्थी पार्टीहरुबिच रुपान्तरण सहितको एकतामा जोड दिनुभएको थियो ।

