चितवन, पुर्वी चितवनको राप्ती नगरपालिका वडा नं २ मा नयाँ एम्बुलेन्स सेवाको उद्द्घाटन गरिएको छ। बंगलामुखी कर्णखर सेढाई ट्रस्टले आज बंगलामुखी मन्दिर परिसरमा एक कार्यक्रमका बिच उद्द्घाटन सम्पन्न गरेको हो। भुवनराज रुवालिको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती नगरपालिका वडा नं २ का वडाअध्यक्ष श्यामसुन्दर उप्रेती (राजा) ले रिवन काटेर र छोटो दुरी चलाएर एम्बुलेन्सको समुद्द्घाटन गर्नुभएको हो। करिब १५ वर्ष अगाडि पनि ट्रस्टले एम्बुलेन्स सेवा प्रदान गरेको थियो। त्यसयता एम्बुलेन्स पुरानो भएर बिग्रेकाले लगभग ६ वर्षजति सेवा दिन सकेको थिएन।
कार्यक्रममा बंगलामुखी मन्दिरका पुजारी सहित मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरु, बंगलामुखी कर्णखर सेढाई ट्रस्टको समितिका पदाधिकारीहरु र केहि स्थानीयवासीको समेत उपस्थिति रहेको थियो।
ट्रस्टले स्थानीय समाजसेवी एवम् बुद्धिजीवी हेमकान्त सेढाई र सीता सेढाईको दिगंवत छोरा स्व असिम सेढाईको स्मृतिमा आजबाट औपचारिक रुपमा एम्बुलेन्स सन्चालनमा ल्याएको हो। ट्रस्टले एम्बुलेन्स सेवा चुस्त-दुरुस्त र प्रभावकारी ढंगले सञ्चालन गर्नका निम्ति २५ वर्ष कटेका अनुभवी चालकको लागि आवेदन समेत खुला गरेको छ।

