चैत्र २४, चितवन । नेपाली कांग्रेस चितवनले गठबन्धन कार्यदलका संयोजक रामचन्द्र पौडेललाई भेटेर भरतपुर महानगरपालिकाको मेयर नछाड्न दबाब दिएको छ । कांग्रेस चितवनले आज (बुधबार) पौडेललाई भेटेर दबाब दिएका हुन् ।
कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला, टेकप्रसाद गुरूङ, कांग्रेस जिल्ला सभापति राजेश्वर खनाल, नेता जगन्नाथ पौडेललगायतले पौडेललाई भेटेर महानगर मेयर नछाड्ने बटमलाइनसहितको कांग्रेस जिल्ला कार्यसमिति चितवनको सर्वसम्मत निर्णय बुझाएको निवर्तमान सभापति जीतनारायण श्रेष्ठले जानकारी दिए ।
टोलीले सभापति शेरबहादुर देउवलाई पनि भेट्ने तयारी गरेको छ । २०७४ को चुनावमा कांग्रेस र माओवादीले भरतपुरको मेयर र उपमेयरमा मात्र गठबन्धन गरेका थिए । जस अनुसार भरतपुरमा माओवादीकी रेनु दाहाल मेयर निर्वाचित भएकी थिइन् ।
यसपटकको चुनावमा पनि माओवादीले भरतपुरको मेयरमा दाबी गरिरहेको छ । तर कांग्रेस चितवनले यस पटक भरतपुर नछाड्ने अडान लिदै आएको छ । भरतपुरको मेयरमा दुबैले दाबी गरिरहदा कसले पाउला भन्ने बिषयलाई निकै चासोका साथ हेरिएको छ ।

