चैत्र १७, गैंडाकोट । चैत महिना लाग्नासाथ हुर्कदै गरेको गर्मी मध्य चैतमा आईपुग्दा ह्वात्तै बढेको छ । मौसमी गर्मीसँगै स्थानीय तह निर्वाचनको मिति पनि नजिकिएको छ । जसले वातावरणमा गर्मी त थपेको छ नै, गैंडाकोटको राजनीति पारोलाई पनि उच्च बिन्दुमा पुर्याएको छ । जसका कारण अहिले नगरको चुनावी माहौल उत्सर्गमा छ ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आफ्नो पक्षमा पार्न यहाँका प्रमुख राजनितिक दलहरु जनताका घरदैलोमा पुग्न थालिसकेका छन् । तर उम्मेवार भने को हुने अझै निश्चित भएको छैन । तथापी विभिन्न पार्टीका सक्रिय सदस्यहरु आफूखुसी उम्मेदवारी घोषणा गर्ने थालिसकेका छन् । यसैबीच नेपाली काँग्रेस गैंडाकोट नगर समितिका सचिब गोबिन्द घिमिरेले वडा नम्बर ५ को वडा अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।सचिव घिमिरेले गुल्मी जिल्लाबाट विद्यार्थी र युवा अवस्थामा राजनीति सुरु गर्दै नेपाली कांग्रेस गैडाकोट वडा नं. ५ को सचिव भएर काम शुरू गरेका थिए । त्यसपछि उनले नेपाली कांग्रेस गैडाकोट ५ को सभापति भएर कुशल नेतृत्व पनि गरिसकेका छन । गैंडाकोट नगर काँगे्रसको सचिब समेत रहेका घिमिरेले आफू वडाका जनतासँग नजिक भएकाले आफूले पार्टी र वडामा रहेका हरेक नागरिकको आवश्यकतालाई नजिकबाट महसुस गरेको बताए ।
आफू वडा अध्यक्ष भएमा नागरिकको हकहितका लागि निरन्तर खबरदारी गर्ने, नारायणी किनारमा शुरू भएको तटवन्धनको काम छिटो सकाउन ताकेता गर्ने, राजमार्ग छेउछाउको डुवानको समस्या हटाई सुरक्षित वडा बनाउने, सचेतना तथा जागरण कार्यक्रम लगायत बेरोजगार मुक्त वडा बनाउने, वडामा रहेको स्वास्थ चौकिलाई ५ सैयाको अस्पतालको रुपमा बिकास गर्दै स्वास्थ्यको पहुच बढाउने, नागरिकलाई आत्मनिर्भर वनाउने योजना ल्याउने, नगरपालिका सँग समन्वय गरी ‘आत्मनिर्भर वडा’ को योजना शुरूवात गरी कार्यान्वयन गर्ने, जसमा शिक्षा, स्वास्थ, रोजगार र यातायात जस्ता महत्वपूणर् योजना समेटिने घिमिरेले बताएका छन् ।


