चैत्र १६, चितवन । चितवनमा जारी ‘भरतपुर मेयर कप’ एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि मकवानपुर र नवलपुर भिड्ने भएका छन् । आज (बुधबार) भएको खेलमा लगातार दोस्रो जित हात पार्दै मकवानपुर फाइनलमा प्रवेश गरेको हो ।नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्स प्रालिको आयोजनामा रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी प्रतियोगितामा मकवानपुरले चितवनलाई ४४ रनले पराजित गरेको हो । २२२ रनको लक्ष्य पछ्याएको चितवन ३३.४ ओभरमा १७७ रन बनाउँदै अलआउट भएपछि मकवानपुर उपाधि नजिक पुगेको हो । चितवनका लागि विकल गुप्ताले सर्वाधिक ४८ रन बनाए भने स्वप्निल अधिकारीले ३४ रन बनाए ।मकवानपुरका लागि रिजन ढकालले ३, रामनरेश गिरी, असिम श्रेष्ठ र विपुल खनालले समान २/२ विकेट लिए भने शुब कंशकारले एक विकेट लिए ।
खेलमा मकवानपुरका रामनरेश गिरी प्लेयर अफ दि म्याच चुनिए । उनलाई कार्यक्रमका अतिथि उद्योग वाणिज्य संघ चितवनका सदस्य एवं किराना व्यवसायी संघ चितवनका अध्यक्ष रविन्द्रकुमार श्रेष्ठले नगद र उपहार प्रदान गरेका थिए ।
यसअघि टस हारेर पहिले व्याटिङ गरेको मकवानपुरले ४१.१ ओभरमा २२१ रन बनाउँदै अलआउट भयो । उसका लागि शुब कंशकारले ४१, विशाल फुयालले ३६, आकाश घिमिरेले ३१ र रामनरेश गिरीले २५ रन बनाए ।
चितवनका लागि गौतम केसीले ३, प्रशान्त महत, कृजन गुरुङ र संघर्ष पौडेलले समान २/२ विकेट लिए भने दिपेश श्रेष्ठले एक विकेट लिए ।
यसअघि पहिलो खेलमा मकवानपुरले नवलपुरलाई ११६ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । चितवन भने मकवानपुर र नवलपुरसंग पराजित हुँदै बाहिरिएको छ । प्रतियोगिताको फाइनल खेल भोलि विहान ९ बजे हुनेछ ।

