नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिकाको मेयरमा पार्टीको दाबी कायमै रहेको बताउनुभएको छ । भरतपुरमा संचारकर्मीसंग कुरा गर्दै उहाँले गठबन्धनका दलहरुविच चुनावी तालमेल हुने कुरा निश्चित भएको भन्दै चितवन भरतपुरमा आफ्नो पार्टीको दाबी कायमै रहेको बताउनुभएको हो
उहाँले भन्नुभयो,‘नेपाली काँग्रेसको केन्द्रिय कार्यसमिति बैठकले गठबन्धन गर्ने कुरा टुंगो लगाएको छ । अव कुन पालिकामा कसलाई समर्थन गर्ने भन्नेकुरा बसेर टुंगो लगाउँछौं ।’ महानगरपालिका र उपमहानगरपालिका माथिबाटै टुंगो लगाइने भन्दै उहाँले सम्भवत भोलिनै गठबन्धनले केही निर्णय लिन सक्ने बताउनुभयो ।
सबै राजनीतिक दलहरु निर्वाचनमा केन्द्रित भएकाले निर्वाचन हुँदैनकी भन्ने प्रश्न नरहेको प्रचण्डको भनाई छ । प्रचण्ड विभिन्न उद्घाटन र शिलानन्यासका कार्यक्रममा सहभागी हुन चितवन आउनुभएको हो ।

