नुवाकोट । आर्या फार्मा ल्याब र चितवन मेडिकल कलेज (सीएमसी) को सहकार्यमा नुवाकोटको विदुर नगरपालिकाका विभिन्न होल्डिङ सेन्टरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ। भदौ ३१ गतेदेखि सुरु भएको स्वास्थ्य सेवा अभियान असोज ६ गतेसम्म सञ्चालन हुने जनाइएको छ।
विपद् प्रभावित तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गर्दै सञ्चालन गरिएको शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक औषधि वितरण गरिएको छ।
टोलीको नेतृत्व गर्नुभएका आर्या फार्मा ल्याबका मेडिकल रिप्रेजेन्टेटिभ (MR) प्रवीण भट्टराईका अनुसार, स्वास्थ्य शिविरमा चितवन मेडिकल कलेजका मुटुरोग, जनरल मेडिसिन, हाडजोर्नी, मनोरोग, आँखा रोगलगायत विभिन्न विधाका विशेषज्ञ चिकित्सक सहभागी छन्।
विशेषज्ञ चिकित्सकसहितको टोलीले नुवाकोट विदुर नगरपालिकाका विभिन्न होल्डिङ सेन्टरमा पुगेर स्थानीय नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिरहेको छ। शिविरमार्फत आवश्यक स्वास्थ्य परामर्श, परीक्षण तथा औषधि सेवामा सहयोग पुर्याउने उद्देश्य राखिएको छ।
आर्या फार्मा ल्याब र सीएमसीको सहकार्यमा सञ्चालित यो स्वास्थ्य अभियानले विपद् प्रभावित नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।


