चितवन । चितवनको भरतपुर–१० स्थित नारायणी नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरूले रसुवाका बाढीपीडित परिवारका लागि मानवीय सहयोग गरेका छन्।
विद्यालयमा कक्षा २ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूले आफ्नो एक दिनको खाजा खर्च कटाएर १ लाख ३६ हजार ८ सय २५ रुपैयाँ संकलन गरेका हुन्। संकलित रकम रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ।
सानो उमेरदेखि नै सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावना विकास गर्ने उद्देश्यले विद्यार्थीहरूले स्वेच्छिक रूपमा खाजा खर्च कटाएर रकम संकलन गरेका हुन्। विपद्को समयमा आफ्नो दैनिक खर्चबाट समेत सहयोग जुटाएका विद्यार्थीहरूको यो प्रयासले ‘सक्नेले थोरै भए पनि सहयोग गरौँ’ भन्ने सकारात्मक सन्देश दिएको छ।
विद्यार्थीहरूको यो पहललाई विद्यालय परिवारले समेत प्रशंसा गर्दै सामाजिक सेवामा युवापुस्ताको सहभागिता महत्वपूर्ण रहेको जनाएको छ।


