काठमाडौँ –
रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बिनाशकारी बाढीको छैटाैँ दिन पनि खोज तथा उद्धार जारी छ । गत बुधबार आएको बाढीमा परी निधन भएकामध्ये सोमबार बिहानसम्म ९०३ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार भदौ १५ गते सोमबार बिहान ९ बजेसम्मको विवरणअनुसार बाढीमा परी अझै ४ हजार २४७ जना सम्पर्कविहीन छन् भने १० हजार ४५१ जनाको विभिन्न माध्यमबाट उद्धार गरिएको छ ।
प्रभावित क्षेत्रमा ३७ ट्रक र ३५ बोलेरोमा राहत
प्राधिकरणले सोमबार जनाएअनुसार बाढी प्रभावित स्थानमा हालसम्म ३७ वटा ट्रक र ३५ वटा बोलेरोमार्फत खाद्य र गैरखाद्य सामग्री पठाइएको छ । त्यस्तै ८ वटा हेलिकोप्टरमार्फत उद्धार सामग्री प्रभावित क्षेत्रमा पठाएको सरकारले जनाएको छ ।
भदौ १४ गते रसुवा जिल्लाका लागि स्थलमार्ग एवम् हवाई मार्गबाट ५ वटा पोर्टेबल जेनेरेटरसहित खाद्य तथा गैरखाद्य (औषधी तथा स्वास्थ्य सामग्री) पठाउनुका साथै नुवाकोट जिल्लामा १६ वटा सवारीसाधन तथा हेलिकोप्टर सामग्री परिचालन गरेको जनाएको छ ।


