हेटौँडा –
उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन हुने बताएकी छन् । शनिबार उद्योगको स्थलगत अवलोकनका क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले उद्योग पुनर्सञ्चालनको प्रयास सफल हुँदै गएको बताइन् ।
Advertisement
अवलोकनका क्रममा मन्त्री यादवले हाल उद्योगका २० वटा मेसिन (लुम) हरू सफलतापूर्वक सञ्चालनमा आइसकेको र अन्य लुमहरु मर्मतको चरणमा रहेको बताइन् । मन्त्री यादवले विगतमा ठुलो बजेट खर्च भएर पनि उद्योग चल्न नसकेको र वर्तमान अवस्थामा भएको प्रयासमा मितव्ययिता अपनाइएको बताइन् ।
उद्योगका लागि आवश्यक कच्चा पदार्थ (कपास) नेपालकै विभिन्न स्थानबाट सङ्कलन गरिने र स्वदेशी उत्पादनलाई प्राथमिकता दिइने उनले बताइन् । उद्योगलाई दिगो रूपमा सञ्चालन गर्न आम नागरिकको साथ र सहयोग अपरिहार्य रहेकोमा उनले जोड दिइन् । नेपाली सेनाको सहयोगमा पुराना मेसिनहरूको मर्मत सम्भार गरी उद्योगलाई पुनर्जीवन दिने सरकारको यो कदमले स्वदेशी उत्पादन र रोजगारी वृद्धिमा टेवा पुग्ने उनको विश्वास छ ।
‘हाम्रो राम्रो कामलाई रोक्न कतिपय तत्त्व र व्यापारीहरू सक्रिय हुन सक्छन् । त्यसैले अब स्वदेशी उद्योग जोगाउन जनताको साथ चाहिन्छ । उनले भनिन् ।


