काठमाडौँ –
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज शुक्रबार बस्दैछ । बिहान ११ बजेपछि पार्टी कार्यालय वनस्थलीस्थित घण्टीघरमा बस्ने बैठकमा छलफलका एजेन्डा दर्जन भन्दा बढी रहेका छन् । तर, प्रधानमन्त्री समेत रहेका पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह भने बैठककै दिन मुस्ताङतर्फ हिँडेका छन् ।
Advertisement
प्रधानमन्त्री शाह शुक्रबार बिहान सडक मार्ग मार्फत पोखरा हुँदै मुस्ताङका लागि हिँडेका हुन् । तर, उनको मुस्ताङ भ्रमणबारे सुरक्षा अधिकारीले समेत अनविज्ञता प्रकट गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू समेत मुस्ताङ भ्रमणबारे केही खुलाउन चाहँदैनन् ।
स्रोतका अनुसार केहीबेर अघि प्रधानमन्त्री शाह धादिङस्थित नेपाली सेनाको भैरव गणमा पुगिसकेका छन् । यसअघि पनि बालेन पार्टीको केन्द्रीय समिति बैठकमा मात्र होइन दलको बैठकमा समेत न्युन मात्रमा सहभागी हुँदै आएका छन् ।
रास्वपा महामन्त्री विपिनकुमार आचार्यका केन्द्रीय समिति बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन गर्ने, राइट टु रिकल सम्बन्धी दस्ताबेज निर्माण र साङ्गठनिक व्यवस्थापन तथा मनोनयन सम्बन्धी विषयमा छलफल गर्ने एजेन्डा तय भएका छन् ।
त्यसबाहेक केन्द्रीय समिति सदस्य र पदाधिकारी मनोनयन,सचिवालय सदस्य मनोनयन, तथा विभागीय प्रमुखहरूको मनोनयन र स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन गर्ने छलफलको एजेन्डा छ ।


