काठमाडौं -बाजुरामा पहिरो खसेकाे छ । घरमाथिबाट पहिरो खसेपछि १३ घरधुरी जोखिममा परेका छन् । बडिमालिका नगरपालिका –९, सेलागाडमा अविरल वर्षासँगै आएको पहिरोका कारण जोखिममा परेका १३ परिवारलाई सुरक्षित स्थानमा लगिएकाे छ । तीमध्ये तीन घरधुरी बस्नै नमिल्ने गरी उच्च जोखिममा पुगेका छन् ।
शुक्रबार बिहान करिब ४ः३५ बजे घरमाथिबाट पहिरो खसेको प्रहरीले जनाएको छ । बस्ती जोखिममा परेपछि जिल्ला प्रहरी कार्यालय बाजुराले घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन तथा अन्य सरसामान सुरक्षित स्थानमा सारेर उद्धार गरेको छ ।
प्रहरीका अनुसार, प्रभावित १३ घरधुरीमा ८३ जना परिवारका सदस्य बसोबास गर्दै आएका छन् । जोखिममा रहेका बस्तीका स्थानीय ३० वर्षीया पार्वती थापा बेहोस भएकी थिइन् । उनलाई उपचारपछि स्वास्थ्य अवस्थामा सुधार आई डिस्चार्ज गरिएको छ ।
पहिरोका कारण बडिमालिका नगरपालिका–८, राप्कास्थित टोट्के सिँचाइ नहरमा समेत क्षति पुगेको छ । पहिरोले २०० एमएमको करिब २३० मिटर प्लास्टिक पाइप तथा २५ मिटर पक्की नहर समेत बगाएको छ । प्रभावित क्षेत्रमा थप निगरानी तथा आवश्यक सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।


