चितवन – युनाइटेड टेक्निकल कलेज (यू–टेक), भरतपुरले आज असार १ गते “International Conference on Digital Technology and Infrastructure in Engineering and Allied Sciences 2026” नामक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ।
इन्जिनियरिङ, डिजिटल प्रविधि, पूर्वाधार विकास तथा दिगो निर्माणका विविध आयाममा केन्द्रित सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, अनुसन्धानकर्ता, प्राध्यापक, इन्जिनियर तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ।
सम्मेलनको उद्घाटन पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. विष्णु प्रसाद तिवारीले गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्रा. डा. पदमबहादुर शाही, त्रिभुवन विश्वविद्यालय अन्तर्गत आईटी इनोभेसन सेन्टरका निर्देशक तथा आईओई पुल्चोक क्याम्पसका प्राध्यापक प्रा. डा. सुबर्ण शाक्य, सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपाल (SOTEN) का अध्यक्ष डा. हरिराम श्रेष्ठ लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनेछ।
कार्यक्रम बिहान ८:३० बजेदेखि दर्ता तथा स्वागतका साथ सुरु हुनेछ भने ९:३० बजे औपचारिक उद्घाटन सत्र आरम्भ हुनेछ। सम्मेलनमा कृत्रिम बुद्धिमत्ता (AI), डिजिटल सुशासन, स्मार्ट पूर्वाधार, यातायात प्रणाली, भवन निर्माण, जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण तथा दिगो विकाससँग सम्बन्धित विभिन्न अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गरिनेछन्।
विशेष सत्रअन्तर्गत अन्तर्राष्ट्रिय विज्ञ ग्यारी डे पोमेराईले “भूकम्पसम्बन्धी पूर्वसूचना प्रणालीमा कृत्रिम बुद्धिमत्ताको भूमिका” विषयमा प्रस्तुति दिनेछन्। त्यस्तै प्रा. डा. सुबर्ण शाक्यले “AI-Driven Digital Governance Framework for Sustainable Infrastructure Development” विषयमा मुख्य वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
देशभरका विभिन्न विश्वविद्यालय, कलेज तथा अनुसन्धान संस्थाबाट प्राप्त अनुसन्धानपत्रहरूको प्रस्तुति, प्राविधिक छलफल तथा अन्तरक्रियात्मक सत्रहरू सम्मेलनका प्रमुख आकर्षण रहनेछन्। सम्मेलनमार्फत अनुसन्धान, नवप्रवर्तन तथा प्राविधिक ज्ञान आदानप्रदानलाई प्रोत्साहन गर्दै शैक्षिक संस्था, उद्योग तथा सरोकारवाला निकायहरूबीच सहकार्य विस्तार हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
युनाइटेड टेक्निकल कलेजका प्राचार्य तथा सम्मेलन अध्यक्ष प्रा. डा. माधव प्रसाद कोइरालाले डिजिटल प्रविधि र दिगो पूर्वाधार विकासका क्षेत्रमा नयाँ सोच, अनुसन्धान तथा सहकार्यलाई प्रोत्साहन गर्न सम्मेलन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले सम्मेलनले अनुसन्धान संस्कृतिको विकास र व्यवहारिक ज्ञानको विस्तारमा समेत महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।
युनाइटेड टेक्निकल कलेजले सम्पूर्ण सञ्चारकर्मी, प्राविधिक विज्ञ, अनुसन्धानकर्ता तथा सरोकारवालाहरूलाई सम्मेलनमा सहभागी भई कार्यक्रमको सफलतामा सहयोग पुर्याउन आग्रह गरेको छ।
सम्पर्क:
विनोद ढकाल
प्रमुख प्रशासनिक अधिकृत
युनाइटेड टेक्निकल कलेज (U-TEC)
भरतपुर–११, चितवन
मोबाइल: ९८५५०५०८६०

