भरतपुर- भरतपुर महानगरपालिकाद्वारा सञ्चालित आधारभूत शिक्षा उत्तीर्ण परीक्षामा भरतपुर–४ स्थित वाल्मीकि शिक्षा सदनले यस वर्ष पनि उत्कृष्ट नतिजा हासिल गरेको छ।विद्यालयका तीन जना प्रतिभाशाली विद्यार्थीहरु अन्वेषा अधिकारी, आयान त्रिपाठी र प्रान्जली पराजुलीले ४ जीपीए हासिल गर्दै विद्यालय मात्र नभई सम्पूर्ण भरतपुर महानगरपालिकामै गौरवको विषय बनेको विद्यालयका प्राचार्य प्रदिप पौडेलले बताउनु भयो।
यस वर्ष भरतपुर महानगरपालिका भित्र जम्मा ८ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् जसमध्ये ३ जना वाल्मीकि शिक्षा सदनका हुनु आफैंमा विद्यालयको गुणस्तरीय शिक्षाको प्रमाण भएको प्राचार्य पौडेलको भनाइ छ। विद्यालयका सहायक प्राचार्य प्रकास सुबेदीका अनुसार, विद्यालयले यो वर्ष सहित लगातार ४ वर्षसम्म उत्कृष्ट प्रदर्शन गर्दै ४ जीपीए कायम राख्न सफल भएको बताउनु भयो। जसले विद्यार्थीको मेहनत, लगनशीलता र विद्यालयको समर्पित शैक्षिक वातावरणलाई झल्काउँछ।
केवल शीर्ष स्थान मात्र नभई, विद्यालयले समग्र नतिजामा पनि प्रभावशाली उपलब्धि हासिल गरेको छ। जसमध्य ३.६० देखि ४.०० जीपीए ७० जना विद्यार्थी, ३.२० देखि ३.६० जीपीए ९३ जना विद्यार्थी र २.८० देखि ३.२० जीपीए २९ जना विद्यार्थीले प्राप्त गरेका छन्। यसले विद्यालयमा अधिकांश विद्यार्थीले राम्रो शैक्षिक उपलब्धि हासिल गरेको देखाउँछ।
सहायक प्राचार्य सुवेदीले विद्यालयको निरन्तर उत्कृष्ट नतिजाबारे प्रकाश पार्दै, “हामीले विगतका वर्षहरूमा पनि एसईई परीक्षामा ४ जीपीएसहित उत्कृष्ट नतिजा ल्याउँदै आएका छौं, र यस वर्षको आधारभूत तहको नतिजाले हाम्रो प्रतिबद्धता अझ स्पष्ट बनाएको” बताउनु भयो।
विद्यालय प्रशासन, शिक्षक तथा अभिभावकहरूको सामूहिक प्रयास र विद्यार्थीहरूको कडा मेहनतका कारण वाल्मिकी शिक्षा सदन भरतपुर क्षेत्रमा एक उत्कृष्ट शैक्षिक केन्द्रको रूपमा स्थापित हुँदै गएको छ। आगामी दिनहरूमा पनि यस विद्यालयले अझ उत्कृष्ट नतिजा ल्याउँदै नयाँ कीर्तिमान कायम गर्ने विश्वास गरिएको छ।

